गङ्गामाया बचाऔँ अभियान

काठमाडौँ- आफ्ना छोराको हत्यारालाई कारबाही हुनुपर्ने माग राखी अनशनरत गङ्गामाया अधिकारीको जीवन रक्षाका लागि ‘गङ्गामाया बचाऔँ अभियान’ अन्तर्गत आज मानवअधिकारकर्मीले सिंहदरबार दक्षिण ढोकातर्फ धर्ना दिएका छन् ।

मानवअधिकारकर्मीले छ वर्षदेखि अनशनरत गङ्गामायाले गत बिहीबारदेखि स्लाइन र पानीसमेत त्यागेर आमरण अनशन सुरु गरेपछि उहाँको जीवन रक्षाका लागि सरकारलाई दबाब दिन आइतबारदेखि दबाबमूलक कार्यक्रमको आयोजना गरेको मानवअधिकारकर्मी चरण प्रसाईंले जानकारी दिनुभयो ।

मानवअधिकारकर्मी प्रसार्इं, इन्द्र अर्याल, सुमन अधिकारी, कृष्ण अर्याल, शोभा महर्जन, सावित्री श्रेष्ठ, भोजराज चापागाईंलगायत धर्नामा सहभागी हुनुहुन्थ्यो ।

विसं २०६१ मा तत्कालीन माओवादीले आफ्नो १७ वर्षीय छोरा कृष्णप्रसादको हत्या गरेको भन्दै गङ्गामाया र नन्दप्रसाद अधिकारी अनशनमा बस्नुभएको थियो । अनशनरत अवस्थामा नै नन्दप्रसादको दुई वर्षअघि मृत्यु भए पनि गङ्गामाया एक्लै अनशनलाई निरन्तरता दिइरहनुभएको छ ।

सरकारलाई पाँचदिने अल्टिमेटम दिएर उहाँले वीर अस्पतालमा नै आमरण अनशन सुरु गर्नुभएको हो ।