तक्दीर अधिकारी
सिड्नी । विनर सर्कल मिडियाले महिला शसक्तीकरणको निम्ती सिड्नीमा एक विशेष बहसमूलक अन्तरक्रिर्या कार्यक्रम गर्ने भएको छ ।
सिड्नी क्षेत्रमा रहेर विभिन्न क्षेत्रमा सफल कहलिन सफल भएका महिलाहरुलाई विशेष वक्ता बनाएर अन्य केही गर्न चाहने महिला तथा युवतीहरुलाई ऊर्जा प्रदान गर्ने उद्देश्यका साथ यही नोभेम्बर २७ गते मेरिल्याण्डमा उक्त कार्यक्रम आयोजना गरिएको मिडियाका संस्थापक रोशन खतिवडाले जानकारी दिए ।
सिड्नीमा सफल भएका महिलाहरु जस्तै व्यवसायी, विभिन्न संघसंस्थाहरुमा आवद्ध रहेका नेत्रीहरु, राजनीतिमा सक्रिय नेत्रीहरुलाई निम्ता गरेर ती महिलाहरुका कठीन संघर्षका कथाहरु अन्य महिलाहरुलाई सुन्ने र आफ्नो प्रगति पथमा अघि बढ्न सहज पुर्याउने गरी सो कार्यक्रम आयोजना गरिएको उनले बताए ।
यसअघि पनि संस्थाले पहिलो संस्करणमा यस्तै कार्यक्रम गरेको थियो । जसमा १५ जना महिलाहरु सहभागि थिए ।यो दोस्रो चरणमा अलिक फरक र विशेष तरिकाले कार्यक्रम गर्न लागिएको र यस कार्यक्रममा करिब एक दर्जन वक्ता तथा एक सयको हारहारीमा महिलाहरु उपस्थित रहने प्रिमो एजुकेशन एन्ड भिसा सर्भिसेसका निर्देशक दिपक केसीले बताए । यसप्रकारका कार्यक्रमहरुलाई पनि पहिलेदेखि नै प्रोत्साहन गर्दै आएको भन्दै उनले आगामी दिनमा पनि सकारात्मक कामहरुको निम्ती आफूहरुले सहयोग गर्ने बताए ।
अस्ट्रेलियामा रहेका नेपाली महिलाहरुको समृद्धि र सशक्तिकरणका विषयमा छलफल हुने भएको छ । अस्ट्रेलियामा बसेर नारीहरुले नारीका लागि के गर्न सकिन्छ भन्ने विषयमा बहस हुनेछ । जसरी नारी निकुञ्जले महिलाका एजेन्डामा मात्र काम गर्छ, त्यसरी नै अष्ट्रेलिया अध्ययनका लागि आएका छात्राहरुका लागि हामी के ग-यौं र के गर्न सक्छौं, नेपाल फर्केर पनि केही गर्न सक्छौं भन्ने विषयमा छलफल हुनेछ । अध्ययनका लागि अस्ट्रेलिया आएका छात्राहरुलाई के के समस्या छ ? मूल एजेन्डा यसैमा छलफल हुनेछ ।

कार्यक्रममा सफल व्यवसायी सुजता चालिसे, सिड्नीमा नेपालीहरुको पहिलो र सम्भवत एकमात्र फूल व्यवसायी नितु अधिकारी, एनआरएनए अष्ट्रेलिया सचिव सन्ध्या शाह, अष्ट्रेलियाको राजनीतिमा सक्रिय अन्जना बस्नेत कार्की लगायतले सम्बोधन गर्ने खतिवडाले बताए ।
त्यस्तै केही मनोरञ्जनात्मक कार्यक्रम पनि हुने भएको छ । जसमा भोइस अफ नेपाल सिजन २ को प्रतिस्पर्धी अरुणा शाक्य, गायिका आरती श्रेष्ठ, विनर सर्कलका मस्कान गुरुङसहितको टोली, आस्ना गुरुङ, स्वेता सिमखडा लगायतले सांगीतिक गीत तथा नृत्य प्रस्तुत गर्ने भएका छन् ।
प्रिमो एजुकेशन एन्ड भिसा सर्भिसेसको मुख्य प्रायोजन रहेको उक्त कार्यक्रममा उपस्थित महिलाहरुलाई सफलताको सिंढी चढ्नको निम्ती उत्प्रेरणा जगाउने प्रयास गरिने मिडियाकी एडमिन अंकिता गुरुङले बताइन् ।
उनका अनुसार यस क्षेत्रमा संघर्ष गरेर नयाँ सफलताको उचाई कायम गर्न चाहने महिलाहरुलाई विशेष फाइदा पुग्ने भएको छ ।
कार्यक्रममा निशुल्क प्रवेशको साथै खानाको व्यवस्था पनि छ । हालसम्म ६० जनाले सहभागि हुनको निम्ती आवेदन दिएको र बाँकी ४० जना पनि दर्ता हुने क्रममा रहेको मिडियाले जनाएको छ ।
गुरुङले सिड्नीमा महिलाहरु लक्षित कार्यक्रम नभइरहेको अवस्थामा यस कार्यक्रम महत्वपूर्ण हुने बताइन् । संस्थाले हरेक क्षेत्रहरुलाई प्रोत्साहन गर्ने गरी अघि बढेको भन्दै आगामी दिनमापनि यसप्रकारका कार्यक्रमहरु गरिने बताइन् ।






