अष्ट्रेलियाको क्विन्सल्याण्ड लेवर पार्टीलाई बहुमत, पालासे बनिन लगातार तेस्रो प्रिमिएर

ब्रिजवेन । अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा शनिवार भएको ९३ सिटका लागि आम निर्वाचनमा लेवर पार्टीको पल्लाभारी भएको छ । बहुमत हुनको लागि ४७ सिटमा जित दर्ता गर्नुपर्ने भएपनि लेवरले ४९ सिटमा जित दर्ता गरेको छ । जुन कुल भोटको ६० प्रतिशत हो । त्यसैगरी लिवरल पार्टीले २९ सिटमा चित्त बुझाएको छ भने अन्य दलहरुले ७ सिटमा चुनाव जितेका छन् । यस अघि लेवरले ५२, लिवरलले ३७ तथा अन्य दलहरुले ७ स्थानमा चुनाव जित्ने आँकलन गरिएको एबिसीले जनाएको छ ।
लेवरको तर्फबाट वर्तमान प्रिमियर एनास्तासिया पालासे र लिवरलको तर्फबाट डेब फ्रेन्कलिङटन चुनावी मैदानमा थिए । आफ्नो जित भइसकेपछि पालासेले ट्विट गर्दै सबैलाई धन्यवाद दिएकी छन् । त्यस्तै उनले चुनाव सकिएको अर्काे दिन बाटैै कोरोना महामारी विरुद्धको लडाईमा आफुलाई समर्पित गर्ने घोषणा गरिन् । त्यस्तै विपक्षी दलले पनि आफ्नो हार स्विकार गर्दै प्रिमिएरमा निर्वाचित पालासेलाई बधाई दिएकोे छ ।
पलासे अष्ट्रेलियाकै ईतिहासमा लगातार तेश्रो कार्यकालको लागि जित दर्ता गर्ने पहिलो महिला प्रिमियर बन्न सफल भएकी छिन् ।क्विन्सल्याण्डमा पछिल्लो ३० वर्षमा एक पटक बाहेक सबै सरकार लेवरको नेतृत्वमा गठन भएको छ । यस अघि गरिएको पूर्व मतदानमा करिब १२ लाख मत खसेको थियो । यसअघि सन् २०१७ मा ९३ मध्ये ४८ सिट जितेर लेबर पार्टीले बहुमतको सरकार गठन गरेको थियो । मतदान शनिवार विहान ८ बजेबाट शुरु भएको थियो । पूर्व मतदान भने शुक्रवार नै भएको थियो । अष्ट्रेलियाको चुनावमा १८ वर्ष पुगेकाहरुले मतदान नगरेमा जरिवाना समेत तिर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

(Photo-ABC NEWS)