फरक लुक्समा आएका शेखरले बेनिशासँग ‘भाँडाकुटी’ खेल्दै

काठमाडौ । नेपाली फिल्मी जगतमा फरक लुक्स लिएर आएका शेखर सुवेदीले बेनिशा हमाल र मुकुन भुसालसँग ‘भाँडाकुटी’ खेल्ने भएको छ। नेपाली रणवीर सिंह भनेर चिनिने शेखर सुवेदीले किरण विकको लेखन तथा निर्देशनमा बन्न लागेको नेपाली कथानक चलचित्र ‘भाँडाकुटी’ मा अभिनय गर्ने भएको छ ।

उक्त सिनेमामा चार वटा विभिन्न बिहे सम्बन्धी कथाहरुलाई समेटिने र जसमध्ये एउटा कथा दलित अन्तरजातीय प्रेम विवाह सम्बन्धी कथा रहने लेखक तथा निर्देशक विकले जानकारी दिनुभयो । ‘भाँडाकुटी’ मा विवाह सम्बन्धी तीता–मीठा किस्साहरु हाँस्यशैलीमा पस्किने जमर्काे गरिएको निर्माता कलम खड्काले बताउनुहुँदै फिल्मको छायाँकनको कार्य भने आगामी फागुन महिनाबाट सुरु गरिने जानकारी दिनुभयो ।

मोडलिङ्गबाट आफ्नो करियर सुरु गर्नुभएका शेखर सुवेदी फरक लुक्सकै कारण फिल्म जगतमा भिन्नै पहिचान बनाउन सफल भएका छन् । उहाँले दर्जनभन्दा बढी गीतहरुमा मोडलिङ तथा नेपाली ठूलो पर्दामा ‘चिँ मुसी चिँ’, ‘निर्भय’ र ‘गाँजा बाजा’ लगायतका चलचित्रमा आफ्नो अभिनय दर्शक सामु पस्किसक्नु भएको छ ।