लण्डन । बेलायत स्थित लामो समयदेखि पूर्व गोर्खा वृद्धवृद्धाहरुको हकहितको निम्ती कटिबद्ध रहेको कम्युनिटिज एन्ड नेचर इन्टरनेशनलले लन्डन स्थित विभिन्न नेपाली सस्थाहरु मार्फत अक्सिजन मापन गर्ने अक्सिमिटर प्रदान गरेको छ ।
पछिल्लो महामारीको अवस्थामा धेरै वृद्धवृद्धाहरुको शरीरमा अक्सिजनको मात्रा थाहा नभएको कारण उपचारमा समस्या भएको कुरालाई मध्यनजर गर्दै अक्सिजन मापक यन्त्र अक्सिमिटर प्रदान गरिएको क्यान यूकेका निर्देशक डा. बलराम ढकालले जानकारी दिए ।

हाल ती उपकरणहरु बेलायत स्थित बर्नटोक नेपाली सामाज, तमुधिं लण्डन इकाई तथा सोंपाल सामाजलाई प्रतिसंस्था ५ पिसका दरले हस्तान्तरण गरिएको छ । ती संघसंस्थाहरुले आवश्यकता अनुसार वृद्धवृद्धाहरुलाई सहयोग गर्नेछन् ।
’अहिलेको यो समयमा गोर्खा नेपाली समुदायमा, विशेष गरी वृद्ध बुवाआमाहरुलाई शरीरमा अक्सिजनको मात्रा नाप्न सकिने सानो उपकरण अक्सिमिटरहरु उपलब्ध गराउन पाउदा खुशी लागेको छ।’ लण्डन नेपाल न्यूजसँग निर्देशक ढकालले भने, ’कोभिडको बेलामा शरीरमा अक्सिजनको मात्रा थाहा नपाएको कारणले पनि कति जना बुवाआमा हरुको उपचारमा ठुलो असर परेको भन्ने खबर पाएपछि हामीले यो पहल शुरू गरेका हौँ।’
उनले यो सहयोगले नेपाली समुदायका सदस्यहरुलाई फाइदा हुने विश्वास व्यक्त गर्दै भने, ’हाम्रो यस्तो अभियान बेलायतका अरु नेपाली समुदायमा पनि छ, र आशा छ आगामी दिनमा पनि यस्तो सहयोग गर्न सफल हुने छौ।’
तमुधिं लण्डन इकाईका पूर्वअध्यक्ष समेत रहेका सल्लाहकार डेविड गुरुङको पहलकदमीमा उक्त उपकरण सहयोग गरिएको हो । क्यान यूकेले यस सामाजिक काममा साथ दिने समाजसेवी गुरुङलाई धन्यवाद दिएको छ ।
संस्थाहरुलाई ती अक्सिमिटर हस्तान्तरण गरिएको थियो । बर्नटोक नेपाली समाजलाई समाजसेवी डेविड गुरुङले उक्त सामग्री हस्तान्तरण कार्यक्रममा समाजका अध्यक्ष विष्णु गुरुङ, उपाध्यक्ष भोला पनेरू, ज्येष्ठ नागरिक संयोजक शेर बहादुर आले, ज्योष्ठ नागरिक प्रेम बहादुर गुरुङ उपस्थित थिए ।
सामग्री ग्रहण गर्दै अध्यक्ष गुरुङले यसप्रकारको सहयोग गरेकोमा क्यान यूकेलाई धन्यवाद दिदै यसको सही उपयोग गर्ने र सबै सदस्यहरुमा पुर्याउने प्रतिबद्धता जनाए । बर्नटोक सोसाइटी धेरै नेपाली ज्येष्ठ नागरिक बस्ने क्षेत्र रहेकोले भविष्यमा पनि यस्ता सहयोग को निरन्तरता दिन उनले आग्रह समेत गरे ।
उपाध्यक्ष भोला परेनूले अक्सिसिमटरको प्रयोगबाट घरमै बसी शरीरमा भएको अक्सिजनको मात्रा थाहा पाउने र घटेको पाइएमा स्वास्थ्य कर्मीसामु परामर्श गर्न पाइने भएकोले यसको प्रयोगबाट स्वास्थ्य जटिल बन्न नपाउने बताए ।
त्यसैगरी ज्येष्ठ नागरिक शेर बहादुर आलेले अक्सिमिटर पाएकोमा खुशी व्यक्त गरे । बेलायतमा नेपाली वयोवृद्धाहरुको संख्या धेरै भएको कारण थप सामग्री उपलब्ध भएमा अझ राम्रोे हुने उनको भनाई छ । कार्यक्रममा समाजसेवी डेविड गुरुङले अक्सिमिटर प्रयोग कसरी गर्ने भन्नेबारे डेमो प्रस्तुत गरेका थिए ।
दुवै संस्थाहरुले एक विज्ञप्ती जारी गर्दै आफूहरुलाई उपकरण हस्तान्तरण गर्ने क्यान यूके संस्था परिवारलाई धन्यवाद दिदै कसैलाई आवश्यक परेको खण्डमा जानकारी गराउन आग्रह गरेका छन् ।
यस्तै सोंपाल समाजका अध्यक्ष युक्त गुरुङ र महासचिव भरत गुरुङ तथा तमुधिं लण्डन इकाईका अध्यक्ष बिष्णु गुरुङ र सचिव विकास गुरुङले विज्ञप्ती जारी गर्दै सीमित मात्रामा अक्सिमिटर प्राप्त भएकोले कसैलाई कोभिड १९ को लक्षण देखिएमा सम्पर्क गर्न आग्रह गरेका छन् ।
दुवै संस्थाले आफ्ना सल्लाहकार समेत रहेका डेविड गुरुङ र क्यान यूकेलाई धन्यवाद समेत दिएका छन् ।
बुवाआमाको स्वास्थ्य बलियो होस् भन्ने चाहनाः डेविड
पहलकर्ता समाजसेवी डेविड गुरुङले कोभिडको समयमा घरबाहिर निस्कन नसकिएको कारण उक्त समयमा वृद्धबाबुआमालाई मुटुको धडकन तथा अक्सिजन नापेर स्वास्थ्य स्थिती थाहा पाउन सहयोग होस् भन्ने उद्धेश्यले उक्त पहल गरेको बताए ।
लण्डन नेपाल न्यूजसँग कुरा गर्दै उनले भने, ’लकडाउनको समयमा कोभिडकै कारण धेरै बाबुआमालाई समस्या भएको महसुस गरेर यस्तो सोँच गरेको थिए, सोही अनुसार क्यान यूकेले मेरो सोचलाई पुरा गरिदियो । खुशी लागेको छ।’
यस्तो यन्त्रिक मेसिनले घरबाहिर निस्कन नसकेको अवस्थामा आफैले स्वास्थ्य परिक्षणगरेर आफ्नो स्वास्थ्य बारे थाहा पाउन सकिने भएको कारण अक्सिमिटर निकै उपयोगी रहेको बताए । उनले आवश्यक परेका व्यक्तिले संस्थाहरुसँग सम्पर्क गरेर उक्त मेसिन लिन आग्रह समेत गरे ।
तमुधिं लण्डन इकाई, सोंपाल समाज, स्याङ्जा समाज यूके लगायतका विभिन्न संघसंस्थाहरुको नेतृत्व गरी सल्लाहकार रहेका गुरुङको बेलायती नेपाली समुदायमा समाजसेवीको रुपमा उच्च स्थान रहेको छ ।
तमुधिं लण्डन इकाईका उपाध्यक्ष भरत गुरुङले विशेष गरी अन्य समस्याको कारण पनि औषधी खाइरहेका वयोवृद्धाहरुलाई अक्सिजनको मात्रा, मुटुको धडकन र प्रेसर तुरुन्तै जाँच गरी समयमै अस्पताल पुर्याएर जीवन बचाउन यो मेसिन उपयोगी हुने बताए ।
यसैगरी सोंपाल समाजका अध्यक्ष युक्त गुरुङले आगामी दिनमा पनि यसप्रकारका मानवीय काममा सहकार्य गर्न पाउनेमा आशावादी रहेको भन्दै क्यान यूकेलाई धन्यवाद दिए ।
यस्तै क्यान युके बेलायतमा रहेका नेपाली समुदायको एक हिस्सा बन्न सफल भएको छ । खासगरी जातीय अल्पसंख्यक समुदायहरु, तथा यूकेमा रहेका नेपाली वृद्धवृद्धा र भाषागत रुपमा समस्या भोग्ने नेपालीहरुलाई क्यानले गरिरहेको सहयोग र सद्भावले पनि संस्था एक अभिभावकको रुपमा उभिएको सामाजिक अगुवाहरुले बताउने गरेका छन् ।
हेरौ डेविड गुरुङको भिडियो:






