लण्डन । नेपाल चलचित्र कलाकार संघ यूकेले पूर्वमन्त्री तथा नेकपा दाहाल नेपाल पक्षका नेता रघुजी पन्तले राष्ट्रियसभा सदस्य समेत रहेकी नेकपा ओली पक्षकी नेत्री कोमल वलीलाई लक्षित गरी प्रयोग गरेको भाषाकोे आपत्ति जनाएको छ ।
एक कार्यक्रममा मन्तव्य व्यक्त गरिरहँदा पन्तले ‘कोमल वलीले साडी सारेर पिडुँला देखाउँदै पोइला जान पाम’ भनेपछि प्रधानमन्त्री ओलीले उनलाई केन्द्रीय सदस्य र राष्ट्रिय सभा सदस्य बनाएको टिप्पणी गरेका थिए ।
उक्त टिप्पणीको विषयलाई लिएर नेपाल चलचित्र कलाकार संघ यूके (फान)की अध्यक्ष रोमियन लिम्बूको सिंगो कार्यसमिति एबम सल्लाहकारहरुको सहभागिताले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘फानका मानार्थ सदस्य ,विशिष्ट कलाकर्मी गायिका कोमल वली ज्यूको बिषयमा एकजना राजनीतिकर्मीले व्यक्त गर्नुभएको धारणा आपत्तिजनक मात्र हैन निकृष्ट ,खेदजनक र हिंसायुक्त छ’ । ‘कला जगतमा एउटा राम्रो छवि बनाइसक्नुभएका एक कलाकर्मी त्यस्मा पनि देशको एक सम्मानीत नारीलाई लिएर तल्लो स्तरमा ओर्लेर जून शब्द प्रयोग गर्नु भएको छ हाम्रो सिङ्गो क्षेत्रलाई नै चिन्तित तुल्याएको छ ।’
कुनै पनि रिस,आवेगमा पनि कलाकर्मीको चरित्रहत्या हुने खालका अपशव्द प्रयोग कसैले पनि नगर्न नगराउनका लागि अपिल गर्दै फानले नेपाल चलचित्र कलाकार संघका केन्द्रिय अध्यक्ष परिवारको समेत ध्यानाकर्षण गराएको छ ।
यसैगरी सांसद् नेता पन्तले वलीको मन दुखाउन नचाहेकोे भन्दै आफुले प्रयोग गरेको भाषाले चोट पुर्याएको भए माफी मागेका छन् ।
दिउँसो सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफ्नो मनसाय वलीलाई चित्त दुखाउने नभएको बरू नारीहरुको हकहितको निम्ती आफू सधै लड्दै आएको बताए ।
यता आफुविरुद्ध पन्तको त्यसप्रकारको टिप्पणी आएसँगै वलीले अदालत जाने चेतावनी दिएकी छिन् ।






