काठमाडौँ- तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा उच्चस्तरीय राजनीतिक समितिमार्फत राज्य पुनःसंरचनाको सीमाङ्कन टुङ्ग्याउन सहमत भएको छ ।
प्रमुख तीन राजनीतिक दल र मोर्चाको संयुक्त कार्यदलको सिंहदरबारमा बसेको बैठकमा मोर्चाले राजनीतिक समितिमार्फत समस्याको समाधान गर्न तयार देखिएको हो । तर मोर्चाले त्यसका लागि प्रष्ट कार्यविधि बनाउनुपर्नेमा जोड दिएको छ ।
प्रमुख राजनीतिक दलले राज्य पुनःसंरचनाको सम्बन्धमा देखिएको विवाद हल गर्न तीन महिनाको समय दिएर उच्चस्तरीय समिति बनाउने प्रस्ताव अगाडि सारेका थिए ।
विज्ञ सम्मिलित टोलीले तीन महिनाभित्र सीमाङ्कनको विषय टुङ्ग्याउने र त्यसलाई वैधानिकता दिने विषयमा प्रमुख दलका तर्फबाट यसअघि नै अगाडि सारिएको प्रस्तावमा मोर्चाले सर्तसहित सहमति जनाएको अवस्थामा वार्ता फलदायी हुने दिशामा केन्द्रित रहेको बैठकमा सहभागी नेताहरुले जानकारी दिनुभएको छ ।
प्रमुख दलका तर्फबाट बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल र त्यसमा भएका प्रगतिकाबारे मोर्चालाई जानकारी गराइएको थियो । व्यवस्थापिका–संसद्को बैठक यही माघ ५ गते बोलाइएको सन्दर्भमा त्यस अगावै सहमति जुटाउन भने दुवै पक्ष सहमत भएका छन् ।






