तक्दीर अधिकारी
सिड्नी । नेपालबाट अस्ट्रेलियन नागरिक लिएर आउने जहाजमा नेपाली विद्यार्थीलाई फिर्ता पठाउन सकिन्छ कि भनेर दूतावाससँग समन्वय गरिरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाका अध्यक्ष केशव कँडेलले भने, ‘दूतावासले परराष्ट्र मन्त्रालयमा पत्र लेखेको छ, मन्त्रिपरिषद्को बैठकले ‘हुन्छ’ भन्ने निर्णय गरेको खण्डमा यहाँबाट अप्ठ्यारोमा परेका विद्यार्थीलाई नेपाल पठाउन सकिन्छ ।’
यो विषम परिस्थितिमा अरु एनसीसीले नेपाललाई सहयोग गरिरहेको छ, अस्ट्रेलियाले के गर्दैछ भन्ने लन्डन नेपाल न्यूजको जिज्ञासामा अध्यक्ष कँडेलले भने, ‘यससम्बन्धमा हामीले आइसीसीसँग सल्लाह गरिरहेका छौं, आइसीसीको योजना हेरेर हामी फान्ड राइजिङको काम गछौं । हाम्रो योगदान आईसीसीमा हुन्छ, आईसीसीमार्फत् नै हामी सबै काम गछौं । लकडाउन भएकाले यहाँबाट हामीले कुनै पनि सामग्री पठाउन सक्ने अवस्थामा हामी छैनौं । आइसीसीमा पैसा जम्मा भयो भने उनीहरुले एक ठाउँमा किन्छन् र चार्डर फ्लाइटमार्फत् नेपालमा लैजान सक्छन् । यो नै अहिलेको उत्तम विकल्प पनि हो ।’
एनआरएन अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलले भने, ‘अप्ठ्यारामा परेका विद्यार्थीलाई सहयोग गर्ने सन्दर्भमा छौं ।’
अस्ट्रेलियामा कति नेपाली कोरोना भाइरसबाट संक्रमित भए ? त्यसको तथ्यांक एनआरएनले राखेको छ भन्ने जिज्ञासामा उनले भने, ‘सेल्फ आइसोलेसनमा धेरैजना बसेका छन्, कोभिड–१९ चाहिँ अहिलेसम्म ९ जनामा देखिएको छ । यी ९ मध्ये दुईजनाले स्वास्थ्य लाभ गरिसकेका छन् भने ७ जनाले उपचार गराइरहेका छन् ।’ यी सबै विद्यार्थी रहेको कोषाध्यक्ष पोखरेलले जानकारी दिए ।
सहयोगको आग्रह गर्नेको संख्या पाँच सय बढी भइसकेको जानकारी दिँदै कोषाध्यक्ष पोखरेलले भने, ‘अहिलेसम्म ९२ जनालाई सहयोग उपलब्ध गराएका छौं, अहिलेसम्म आइसोलेसनमा बसेकालाई मात्र सहयोग उपलब्ध गराइएको हो ।’
कोषाध्यक्ष पोखरेलले सहयोगका लागि एनआरएनको खाताबाट २० हजार डलर विनियोजन भएको बताए । यहाँका विभिन्न सामाजिक संघसंस्था, जनरल काउन्सिलर र नेपाली दूतावाससँग कोष वृद्धिका लागि साधनस्रोत खोज्न छलफल भइरहेको छ, तत्काल सहयोगका लागि २० हजार डलर खर्च गर्न बोर्ड बैठकले पारित गरेको पोखरेलले बताए ।
आइसोलेसनमा भएरका र कमजोर आर्थिक अवस्था भएकालाई सहयोग गर्न सकिएपछि बाँकी समस्यातिर ध्यान दिइने उनले बताए । समस्यामा परेका विद्यार्थीलाई के गर्न सकिन्छ भन्ने विषयमा हामी सकरात्मक छौं, पोखरेलले भने, ‘नेपाल फर्किन चाहने विद्यार्थीलाई सहयोग गर्ने आर्थिक क्षमता एनआरएनसँग छैन । यहाँ समस्यामा रहेका विद्यार्थीको दुःख पीडा बुझ्छौं ।’






