तक्दीर अधिकारी
सिड्नी । गैरआवासीय नेपाली संघ अस्ट्रेलियामा कशेव कँडेलले नेतृत्व गरेको रुपान्तरण समूह विजयी भएको छ । रुपान्तरण अर्थात् लोकतान्त्रिक समूहका कँडेलले दिनेश पोखरेलले नेतृत्व गरेको समावेशी समूहलाई झन्डै साढे दुई सय मतअन्तरले पराजित गरेको हो । कँडेलले ४ हजारभन्दा बढी मत ल्याएका थिए भने पोखरेलले झन्डै ३८ सय मत पाएका थिए ।
अधिकांश पदमा कँडेल समुह विजयी भएको छ । महासचिवमा डाक्टर ज्ञानेन्द्र रेग्मी विजयी भएका छन् । त्यस्तै सचिवमा रुपान्तरण समूहकी उषाकिरण बारिया विजयी भएकी छन् । कोषाध्यक्षमा अनिल पोखरेलले विजय हासिल गरे भने युवा संयोजकमा इर्शाद अहमद चुनिए । नारी निकुञ्जको नेतृत्व सन्ध्या शाहले हात पारिन् ।
शनिवार सम्पन्न निर्वाचनमा नर्दन टेरिटोरी संयोजकमा बासुुदेव दुलाल र उपसंयोजकमा अशोक बस्नेत, वेष्टर्न अष्ट्रेलियाको संयोजकमा कृष्णमान श्रेष्ठ र उपसंयोजकमा माधव ढुंगाना विजयी भए । साउथ अष्ट्रेलिया संयोजकमा नविन पन्त र उपसंयोजकमा सन्तोषी गौतम, कुइन्सल्याण्डमा उमेश खड्का संयोजक र अमित खत्री उपसंयोजक विजयी भए । भिक्टोरिया संयोजकमा प्रेम कंडेल र उपसंयोजकमा मणिरतन सापकोटा विजयी भए ।
सबैभन्दा बढी नेपालीको संख्या रहेको न्युसाउथ वेल्समा देव गुरुङ विजयी भए । उक्त राज्यमा सबैभन्दा बढी मत खसेको थियो । निर्वाचिन आयुक्तका अनुसार उक्त राज्यमा झन्डै ६० प्रतिशत खसेको छ । समावेशी समूहका गुरुङलाई रुपान्तरण समूहका डिला खरेलले कडा चुनौति दिएका थिए ।
त्यस्तै आइसिसी सदस्यमा राजु अधिकारी, छवीप्रसाद सापकोटा र दिपक शर्मा, अरुणकुमार ठाकुर, नारायण काफ्ले, अशोक केसी र सन्तोष कुँवर विजयी भए ।






