सिड्नी । ५० बर्षयताकै ठूलो बाढी आउँदा अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको जनजीवन कष्टपूर्ण बनेको छ । ठूलो वर्षा नरोकिएपछि बाढीको जोखिमका कारण लगभग १८ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने सिड्नी पश्चिममा आपतकाल घोषणा गरिएकोे छ ।
केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण सिड्नीवरपर र दक्षिणपूर्वी राज्य क्वीन्सल्यान्डमा नदी र तटबन्धहरूमा पानीको बहाव बढेको छ। अधिकारीहरूले ५० वर्षमा एक पटक हुने अवस्था यो साताभरि रहन सक्ने भन्दै नागरिकहरूलाई सचेत रहन आग्रह गरेका छन्। प्रधानमन्त्री स्कट मोरिसनले स्थानान्तरणका लागि बाध्य भएका मानिसका लागि कोषको व्यवस्था गर्दै देशका लागि अर्को परीक्षाको घडी भएको बताएका छन्। कुनैकुनै स्थानमा १ हजार मिलिमिटरसम्म पानी परेको मौसम विभागले जनाएको छ। सोमवार बाढीका कारण १५० विद्यालय बन्द भएका छन् भने नदीहरू सन् १९६१ को विनाशकारी बाढीको समयभन्दा ठूलो भएको छ ।
एयरपोर्टका सबै उडान बुधबारसम्मका लागि स्थगित गरिएको छ । बाढीको कारण केही घरहरू पनि बगाएको छ भने धेरै घरहरुमा क्षती पुगेको छ । मंगलवारसम्म पानीको बहाव कम नहुने भएको कारण सतर्क रहन सरकारले आग्रह गरेको छ । सतर्क रहन नेपाली दूतावासको आग्रह बाढीले वितण्डा मच्चाएपछि अस्ट्रेलियाको लागि नेपाली राजदूतावासले सतर्क रहन सबै नेपालीहरुलाई आग्रह गरेको छ । सामाजिक सञ्जालमा एक सन्देश लेख्दै दूतावासले सतर्क रहन सबैलाई आग्रह गर्दै केही समस्या भए आपतकालीन हटलाइनमा फोन गर्न या दूतावासमा जानकारी गराउन समेत आग्रह गरेको छ । यसैगरी न्यूसाउथवेल्सका लागि नेपाली अवैतनिक महावाणिज्यदूतको कार्यालयले सतर्कता अपनाउन र कुनै समस्या भएको खण्डमा सहायतको निम्ती आफूहरु तयार रहेको जनाएको छ ।






