कोलोराडो । कोलोराडो राज्यको वोल्डर भन्ने ठाऊमा रहेको एक स्थानीय पसलमा आज भएको गोलीकाण्डमा एक प्रहरी अधिकारी सहित १० जनाको हत्या भएको छ ।
क्रोगरद्वारा सञ्चालित ‘किंग सुपर’ नामक पसलमा भएको सो गोलीकाण्डमा प्रहरी अधिकारी इरिक ट्याली सहित १० जनाको हत्या भएको सीएनएनले उल्लेख गरेको छ।
५१ वर्षीय प्रहरी अधिकारी इरिक ट्याली दश वर्षदेखि वुल्डर प्रहरी विभागमा कार्यरत थिए । वुल्डर प्रहरी विभागले एक ट्वीट गर्दै तिम्रो आत्माले शान्ति पाओस् प्रहरी अधिकारी इरिक ट्याली । तिम्रो सेवालाई कहिले पनि भुलिने छैन भनी लेखेको छ ।
यो घटना स्थानीय समय अनुसार अपरान्ह साढे दुइ वजेको हो, जहां प्रहरी अधिकारीहरु पुग्दा अपराधीले गोली चलाइरहेका थिए ।
स्थानीय टेलिभिजन एयर ट्रयाकर सेभेनले घटनास्थलवाट एकजनालाई हतकडी लगाएर पक्राउ गरिएको र ती पक्राउ परेका व्यक्तिको खुट्टावाट रगत वगिरहेके भनी समाचार प्रेसित गरेको छ । स्थानीय प्रशासनले अभियुक्तको अहिले उपचार भइरहेको जनाएको छ ।
कोलोराडो नरसंहारको विषयमा राष्ट्रपति जो वाइडेनलाई जानकारी गराइ सकिएको ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन पास्कीले जानकारी दिएकी छिन् ।
अभियुक्तले गोली चलाउन सुरु गरेको केही मिनेटमा नै प्रहरी घटनास्थलमा आइपुगेको थियो र प्रहरीले कारवाही गर्न खोज्दा प्रहरी अधिकारीमाथि समेत आक्रमण भएको थियो ।
क्रोगरको स्वामित्वमा रहेको किंग सुपरमा ३२ जना कर्मचारीहरु कार्यरत थिए । क्रोगरले यो घटनालाई भयानक र दुखदायी भन्दै आफ्नो तर्फवाट अनुसन्धानमा पूर्ण रुपमा सहयोग गर्ने उल्लेख गरेको छ ।






