थप तीन व्यापारिक नाका खोल्न चीनसँग प्रस्ताव

Gorkha_Lama_bagar_702713255
नेपालले तीनवटा अतिरिक्त व्यापारिक नाका खोल्न चीनसमक्ष प्रस्ताव राखेको छ। चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालबीचको व्यापार सहजीकरण समितिको शुक्रबार काठमाडौंमा सुरु भएको छैटौं बैठकमा नेपालले उक्त प्रस्ताव राखेको हो।
बैठकमा सहभागी वाणिज्य मन्त्रालयका एक उच्च अधिकारीका अनुसार दोलखाको लामाबगर, गोरखाको छेकम्पार-लार्के र मुगुमा गरी थप तीनवटा नयाँ नाका खोल्न नेपालले प्रस्ताव गरेको हो । नेपालको प्रस्तावमा चिनियाँ पक्ष सकारात्मक देखिएको ती अधिकारीले जानकारी दिए।
 नेपालको प्रस्तावअनुसार अतिरिक्त व्यापारिक नाकाहरू विकास गर्न सम्भाव्यता अध्ययन गर्न चिनियाँ पक्ष राजी भएको छ। ‘भूकम्पका कारण तातोपानी र रसुवागढी नाका अवरुद्ध हुँदा द्विपक्षीय व्यापार ठप्प भयो।
 विगतका ६ वटा नाकाका अतिरिक्त वैकल्पिक तीनवटा नाका खोल्न चिनियाँ पक्षसँग प्रस्ताव राखेका छौं। यसमा उनीहरू सकारात्मक देखिएका छन्’, बैठकमा नेपाली पक्षको नेतृत्व गरेका वाणिज्य मन्त्रालयका सहसचिव जीवराज कोइरालाले भने।
दुई देशबीच हाल ओलाङचुङ्गोला, किमाथांका, तातोपानी, रसुवागढी, मुस्ताङ र हुम्लाको यारी गरी ६ वटा व्यापारिक नाका छन्। २०६८ माघमा नेपाल भ्रमणमा आएका तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जिया बाओ र तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईबीच ६ वटा नाकामध्ये तीनवटालाई द्विपक्षीय व्यापारमा र तीनवटालाई अन्तर्राष्ट्रिय नाकाका रूपमा विस्तार गर्ने सहमति भएको थियो।
यीमध्ये तातोपानी र रसुवागढी नाका बढी प्रयोगमा छन्। वैशाख १२ को भूकम्पपछि दुवै नाका अवरुद्ध हुँदा नेपाल र चीनबीचको व्यापार लगभग शून्यमा झरेको छ।