अस्ट्रेलियाबाट किन फर्कियो वाइड बडी जहाज रित्तै

तक्दीर अधिकारी
सिड्नी । २ सय ५७ जना यात्रु लिएर काठमाडौंबाट अस्ट्रेलिया उडेको नेपाल वायु सेवा निगमको वाइड बडी जहाज अबतरणको केही समय पछी ब्रिस्बेन बाट अप्रिल २ मा रित्तै फर्किएको छ ।

यात्रु अभावमा जहाज रित्तै फर्किको होइन, यहाँबाट यात्रु लिएर गए चर्को विवाद हुने भएकाले जहाज रित्तै फर्किएको हो ।कोरोना भाइरसको संक्रमण नेपालमा नफैलियोस् भनेर सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । यसअवधिमा १४ सय ७४ पर्यटक बाहिरिएका छन् भने नेपाली सीमा क्षेत्रमा रहेका नेपालीलाई समेत प्रवेशमा कडाइ गरिएको छ ।

महाकाली सीमा रहेका नेपालीलाई समेत नेपाल प्रवेश गर्न नदिएका बेला जहाजमा अस्ट्रेलियाबाट नेपाली लिएर आए सरकारले थेग्न नसक्ने विरोध खेप्नुपर्ने भएकाले जहाज रित्तै फर्किको हो ।

अस्ट्रेलियामा रहेको नेपाली दूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले अप्ठ्यारोमा परेका नेपाली विद्यार्थीलाई अस्ट्रेलियन नागरिक लिएर आएको नेपाल वायु सेवा निगमको जहाजमा फर्काउन सकिन्छ कि भनेर पहल गरेको थियो । तर उक्त पहललाई नेपाल सरकारले कुनै महत्व दिएन ।