एनआरएनए न्यू साउथ वेल्स राज्य परिषदले विद्यार्थीकालागि सचेतनामूलक कार्यक्रम गर्दै

सिड्नी । एनआरएनए न्यू साउथ वेल्स राज्य परिषदले अस्ट्रेलियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरुकालागि सचेतनामूलक कार्यक्रम आयोजना गर्ने भएको छ ।

अस्ट्रेलियामा रहेका विद्यार्थीहरुले भोग्नुपर्ने समस्या तथा  निराकरणका लागि सचेतनामूलक कार्यक्रम गर्न लागिएको हो ।उक्त कार्यक्रमको अस्ट्रेलिया स्थित नेपाली दुतावास, परामर्शदाता कम्पनी र अस्ट्रेलियन एजुकेशन कन्सल्टेन्सी (एक्का)लगायतका संघ संस्थाले सहजीकरण गरेका छन् ।

उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलियामा आएका नयाँ विद्यार्थीहरु र पुराना विद्यार्थीहरुलाई लक्षित गरी यही १२  मार्च  सिविक थिएटर हर्स्भिल मा सचेतनामूलक कार्यक्रम आयोजना गरिएको एनआरएन न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङले जानकारी दिए ।

उक्त कार्यक्रममा अष्ट्रेलियामा नयाँ आउने विद्यार्थीहरूका लागि अवसर, चुनौती विषयमा जानकारीमूलक प्रशिक्षण रहने उनले बताए । उनले यो विद्यार्थीहरुका लागि एउटा राम्रो अवसर भएको बताउँदै सिक्ने र विशेषज्ञहरूसँग छलफल, परामर्श तथा सवाल जवाफ गर्न पाउने जानकारी दिए ।

उक्त कार्यक्रममा अष्ट्रेलियास्थित विभिन्न सघंसंस्थाका प्रतिनिधि तथा विज्ञहरुले अस्ट्रेलियामा रहेका समस्याहरु भईपरिका बारेमा जानकारी दिनेछन् ।

कार्यक्रममा राहदानी, भिसा र एनआरएन परिचयपत्र लगायतका सबै प्रकारका कागजातहरु सम्बन्धी जानकारी गराउने भएकाले कार्यक्रम उपलब्धि र निकै महत्वपूर्ण भएको भन्दै उनले उपस्थितिका लागि सबैलाई आग्रह गरे ।

करिब २ सय विद्यार्थीको उपस्थिति हुने आयोजकले अनुमान गरेको छ ।