नेपाली हिन्दू समाज अष्ट्रेलियाको आयोजनामा अनलाइन श्रीमद्भागवत महायज्ञ गरिदै ।

तक्दीर अधिकारी
सिड्नी । नेपाली हिन्दू समाज अष्ट्रेलियाको आयोजनामा अष्ट्रेलियामा श्रीमद्भागवत महायज्ञ गरिने भएको छ। आउने नाभेम्बर २४ गतेदेखि ३० गतेसम्म एक हप्ते महायज्ञ गर्न लागिएको हो । विश्वमा महामारीको रुप लिएको कोभिड १९ को कारणले जनमानसमा त्रास, हतास र निराशा फैलिरहेको यो अवस्थामा मानिस भित्र आध्यात्मिक जागरण गराई उत्साहित गराउन नेपाली हिन्दु समाज अस्ट्रेलियाले यस प्रकारको कार्यक्रम गर्न लागेको महायज्ञका संकल्प कर्ता पण्डित प्रकाश ढोडारीले बताए । तर उक्त महायज्ञ भने भौतिक रुपमा नभएर अनलाइनको माध्यमबाट गर्न लागिएको हो । कोरोना महामारीको जोखिम न्यूनिकरण गर्ने गरी अनलाइन मार्फत महायज्ञ गर्न लागिएको पण्डित ढोडारीको भनाई छ ।
नेपाली समयम मङ्सिरको ८ गते देखि १५ गतेसम्म अर्थात २४ नोभेम्बर बाट ३० नोभेम्बर सम्म हुने उक्त भागवत कथा प्रवचन तथा पूजा कार्यक्रम ओमकार टेलिभिजन, दर्शन यट्युब च्यानल मार्फत हेर्न सकिने भएको छ । त्यसैगरी गुरु मञ्जरी समूहको फेसबुकबाट प्रत्यक्ष प्रसारण हुनेछ । यस सप्ताह महापुराणलाई चर्चित कथाकार यूवा पण्डित कुबेर सुवेदीले कथा प्रवचन दिनेछन् भने सांङ्गितिक प्रस्तुति लोकप्रिय भजन गायक राजु अधिकारी, सा.रे.ग.म.प. कि चर्चित गायिका मेनुका पौडेल लगायत अन्य कलाकारहरुको रहने समाजले जनाएको छ ।

महायज्ञ बाट संकलन हुने आर्थिक सामाजिक कार्यक्रम खर्च गरिने भएको छ । पण्डित ढोडारीका अनुसार यस संकलित रकमबाट ३१ वटा गुरुकुलममा ५०० जना विद्यार्थीलाई सहयोग गरिने छ । त्यस्तै डिभाइन पाथ इन्टरनेशनल फाउण्डेशन डिपीआइएफद्वारा नेपालमा कोरोना प्रभावित नागरिकलाई निशुल्क रुपमा सञ्चालन गरिएको भोजन सेवालाई सहयोग गरिने भएको छ । पशुपति क्षेत्रमा उक्त संस्थाले दैनिक २ सय देखी ३ सय नागरिकलाई निशुल्क खाना खुवाउँदै आएकोे छ । उक्त मानविय सेवाकोे अभियानमा नेप्लीज हिन्दू समाज अष्ट्रेलियाले ऐक्यवद्धता जनाएर सहयोग गर्दै आइरहेको र यस सहयोगले उक्त अभियानमा सहयोग पुग्ने संस्थाकी अध्यक्ष प्रञ्चना शर्माले बताइन् । शर्माका अनुसार प्रत्येक बर्ष अष्ट्रेलियामा बार्षिक रुपमा सामूहिक महायज्ञ, व्रतबन्ध, गुन्यूचोली आदी गर्दै आइरहेको छ । यस बर्ष भन्दै कोभिड १९ को कारण अनलाइन बाटै उक्त कार्यलाई निरन्तरा दिइने भएको होे । यस महायज्ञले यस जटिल परिस्थितीको समयमा धार्मिक भावना र आध्यात्मिक उर्जा प्रदान गर्ने उनले बताइन् ।