आन्दोलनको तयारीमा मधेसी मोर्चा

काठमाडौं–संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गराउन दवाव आन्दोलनको तयारी गरेको छ ।

मधेशी मोर्चाको सचिवालय संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गराउन दवाव दिने गरी आवश्यक रणनीति तय गर्न जुटेको हो ।
मध्येवानेश्वरस्थित सदभावना पार्टीको केन्द्रिय कार्यालयमा सोमबार बसेको मोर्चाको सचिवालय बैठकले विनादवाव संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गराउन नसकिने निष्कर्ष निकालेको हो ।

बैठकमा संविधान संशोधन प्रस्ताव परिमार्जनका लागि दवाव दिन कार्यदल नै बनाएर अघि बढनेसम्मको तयारी पनि गरिएको छ ।
सदभावना पार्टीका महासचिव मनिषकुमार सुमनले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गराउन दवाव दिने गरी आन्दोलनको कार्यक्रम तय गर्ने निर्णय लिइएको जानकारी दिए ।

सचिवालयका नेताहरुले शीर्ष नेताहरुसँग मंगलबार नै छलफल गरी दवाव आन्दोलनको खाका तयार पार्ने पनि बताएका छन् ।

बैठकमा मोर्चाको सचिवालयले मधेश आन्दोलनको क्रममा घाइते भएकाहरुको उपचार खर्च दिन सरकारलाई पुनः ध्यानाकर्षण गराउने निर्णय पनि लिएका छन ।
मधेश आन्दोलनका क्रममा घाईते भएकाहरुको उपचार खर्च, झुटा मुद्दा फिर्ता लिन पुन सरकारसँग आग्रह गर्ने विषयमा पनि छलफल भएको सदभावना पार्टीका महासचिव सुमनले बताए ।
मधेशी मोर्चाले मधेश आन्दोलनका क्रममा ज्यान गएकाहरु मध्ये १६ जनालाई अझै सहिद घोषणा नगरेको भन्दै सरकारसँग असन्तुष्टि व्यक्त गर्दै आएको छ ।

मधेशी मोर्चाले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित नभई निर्वाचन हुनै नदिने जिकीर गर्दै आएको छ । उसले तीन ठूला दलले तत्काल निर्वाचनको मिति घोषणा गर्न सक्ने निष्कर्ष निकाल्दै दवाव आन्दोलनमा जाने रणनीति तय गरेको हो ।