अष्ट्रेलियाको संसदमा महिलामाथि बलात्कार, प्रधानमन्त्री मोरिसनले मागे माफी

सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अष्ट्रेलियाली संसदमा काम गर्ने महिलासँग माफी मागेका छन् ।

संसद भवनमा एक अज्ञात व्यक्तिले बलात्कार गरेको भनिएकी महिलासंग प्रधानमन्त्रीले माफी मागेका हुन् । प्रधानमन्त्रीले यस विषयमा छानबिनको आदेश दिएका छन्।

२६ वर्षीया ती महिलाको मार्च २०१९ मा रक्षामन्त्री लिन्डा रेनल्ड्सको कार्यालयमा बलात्कार भएको र दोषी मोरिसनको सत्तारुढ लिबरल पार्टीको वरिष्ठ कार्यकर्ता रहेको बीबीसीले जनाएको छ ।

स्थानीय मिडियासँग कुरा गर्दै ती महिलाले भनिन्, ‘मैले २०१९ अप्रिलमा यसबारे प्रहरीहरूसँग कुरा गरेको थिएँ, तर मेरो नोकरीको चिन्ताले अफिसमा रिपोर्ट गर्ने निर्णय गरेँ, किनकी मेरो जागिर जान सक्छ कि भन्ने चिन्ता मलाई थियो ।’

प्रहरीले उक्त महिलाको दाबी पुष्टि गरेको छ तर उनले प्रहरीमा जाहेरी भने दर्ता नगरेको बताइएको छ । ती महिलाले उक्त घटनाको बारेमा रक्षामन्त्रीको कार्यालयमा पूर्ण जानकारी दिएको बताएकी छन् ।

रक्षामन्त्री लिन्डा रेनल्ड्सले सोमबार वर्ष त्यो घटनाको बारेमा थाहा भएको भएको बताएका छन् ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले उक्त महिलाको लागि आधिकारिक रूपमा माफी मागेका छन् र यसको छानबिनको आदेश दिएका छन्।

मंगलबार, उनले भने, ”पहिलो कुरा यो हुन नहुनुपर्ने घट्ना हो, तर जे भयो त्यसको लागि माफी चाहन्छु। हामी यो सुनिश्चित गर्न चाहन्छौं कि महिलाहरू काम गर्ने ठाउँमा सुरक्षित छन् र उनीहरू आफ्नो सुरक्षाको लागि प्रणालीमा विश्वास गर्छन्। तर आज पनि महिलाले यसरी पिडा भोग्नु भनेको अत्यन्तै चिन्ताजनक अवस्था हो ।”

स्थानीय मिडियाका अनुसार प्रधानमन्त्री स्कट मोरिसनले यस घटनाका दोषीलाई कारबाही गर्न दवाव दिएका थिए । यसअघि पनि लिबरल पार्टीमा महिलालाई दुर्व्यवहार गरेको गुनासो आएको थियो ।