काठमाडौँ । भारतको मध्यप्रदेशमा मंगलबार बिहान बस दुर्घटना हुँदा दर्जनौँको निधन भएको छ ।
५४ यात्री चढेको उक्त बस बाणसागर नहरमा खसेको हो । हालसम्म ३५ को शव भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अधिकारीले कम्तीमा ३५ जनाको मृत्यु भएको र मृतकको संखया बढ्न सक्ने जनाएका छन् । हालसम्म ७ यात्रुको उद्धार गरिएको र पौडी खेलेर बाहिर निस्किएका चालकलाई प्रहरीले पक्रेको छ ।
स्थानीय समयानुसार बिहान पौने १२ बजे क्रेनको मद्दतले बसलाई बाहिर निकालिएको छ ।
सिधा बाटोमा जाम भएका कारण रुट फेरेका ड्राइभरले नहरको किनाराबाट बस गुडाएको बताइएको छ ।
बाटो निकै साँघुरो भएको र ड्राइभरले सन्तुलन गुमाएका कारण उक्त दुर्घटना निम्तिएको जनाइएको छ । ३२ यात्रीको क्षमता रहेको बसमा ५४ यात्री सवार रहेका थिए ।
यतिबेला उद्धार तथा खोजी कार्य चलिरहेको प्रहरीले जनाएको छ ।






