लण्डन । बेलायत बस्दै आएका शिवजी श्रेष्ठ र उर्मिला श्रेष्ठ दम्पतीले आफ्नो जन्मठाँउ ओखलढुंगामा रहेको ओखलढुंगा क्याम्पसमा ‘राधेश्याम श्रेष्ठ स्मृति छात्रवृति’ स्थापना गरिदिएका छन् । आफ्ना बाबू आमा होम बहादुर श्रेष्ठ र प्रेम कुमारी श्रेष्ठको नाममा सञ्चालित होम बहादुर–प्रेम कुमारी श्रेष्ठ ट्रष्टको तर्फबाट आफ्ना दाजु राधेश्याम श्रेष्ठको नाममा कोष स्थापना गरिएको हो ।
मंगलवार सरस्वती पुजाको अवसर पारेर श्रेष्ठले उक्त सामाजिक कार्य गरी विद्यार्थीहरुको मनोवल वृद्धि गर्ने काम गरेका हुन् । वि.सं.२०४२ सालमा स्थापित सो क्याम्पसका गरिब तथा जेहेन्दार बिद्यार्थीहरुमध्ये प्रत्येक बर्ष एकजनाले छात्रवृति पाउने गरि हाललाइ रु १ लाख बीस हजार अक्षयकोष खडा गरिएको छात्रवृतिका संस्थापक शिवजी श्रेष्ठले बताए ।
उक्त रकम मंगलवार नै ट्रष्टको तर्फबाट केन्द्र श्रेष्ठले क्याम्पस प्रमुख सुमन राजभण्डारीलाइ हस्तान्तरण गरेका छन् । सो रकमबाट आउने व्याजबाट प्रत्येक बर्ष छात्रवृति प्रदान गरिने कोषले जनाएको छ ।यसैगरी सो अवसरमा यसबर्षको ‘राधेश्याम श्रेष्ठ स्मृति छात्रवृति’बाट बीबीएस तेश्रो बर्षमा अध्ययनरत छात्रा मनिता बस्नेतलाई सम्मानित गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले प्रमाणपत्र सहित ११ हजार १ सय ११ रुपैयाले बस्नेतलाई सम्मान गरे । दानी व्यक्तित्वका भाइबुहारी सम्झना श्रेष्ठले एक सन्देश पढेर सुनाउँदै ४० बर्ष अगाडी रकमको अभाव हुँदा क्याम्पस स्थापनाको काम पछि धकेलिएको कारण एउटा पुस्ताले उच्च शिक्षा हासिल गर्ने अवसर गुमाएको बताइन् ।
चराले आफु जन्मेर, हुर्केर, उड्न सिकेको गुड भुले जसरी विद्यार्थीहरुले भोलि आफु जहाँ रहेपनि जन्मदाता, जन्मथलो, बिद्यार्जन गरेको थलो भुल्न नहुने बताइन् । क्याम्पस प्रमुख सुमन राजभण्डारीले श्रेष्ठ परिवारले यस अघि पनि जिल्लाको स्कुल, अस्पताललाई सहयोग पुर्याउँदै आएको भन्दै आगामी दिनमा पनि क्याम्पसप्रति यसैगरी माया दिन धन्यवाद सहित आग्रह गरे ।
सो अवसरमा सिद्धिचरण नगरपालिकाका मेयर मोहन श्रेष्ठले श्रेष्ठ परिवारको लागि कदर पत्र प्रदान गरेका थिए । मंगलवार नै पूर्वक्याम्पस प्रमुख नारायण बहादुर सैंजु तथा संचालक समितिका पूर्वअध्यक्ष भैरव बहादुर श्रेष्ठलाई विदा समेत गरिएको छ ।
ओखलढुंगामा जन्मिएर हाल बेलायतमा बस्दै आएका शिवजी श्रेष्ठ र उर्मिला श्रेष्ठले केहि समय अगाडी मात्रै भक्तलाल श्रेष्ठ र भेष कुमारी श्रेष्ठसंग मिलेर ओखलढुंगा जिल्ला अस्पताललाइ पोर्टेबल अक्सिजन सामग्री प्रदान गरेका थिए। नेपालमा मात्र नभएर श्रेष्ठ परिवारले बेलायती नेपाली समुदायमा पनि सामाजिक सेवा गर्दै आइरहेका छन् ।






