उदयपुर । उदयपुरमा विद्यालयवाट फर्कदै गरेकी कक्षा १० मा अध्ययनरत छात्रा मृत फेला परेको घटनामा प्रहरीले केहीलाई पक्राउ गरेको छ । प्रहरीले सो घटनामा उनकै साथीको संलग्नता भएको संकेत देखेपछि पक्राउ गरेको हो ।
उदयपुरको बेलका नगरपालिका-१ मा कविता सुनुवारको ज्यान लिएको अभियोगमा उनकै सहपाठीहरुलाई प्रहरीले पक्राउ गरेको हो । सुनुवारको सहपाठीसंग केही विषयमा विवाद भएको थियो । सोही कारणले सुनुवारको ज्यान लिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरीले जनाएका छन् ।
प्रहरीले एक नाबालिका सहित १९ वर्षका एक युवकलाई पक्राउ गरेको छ । नाबालिका १७ वर्षकी रहेको प्रहरीको भनाइ छ । पक्राउ परेकी नाबालिका कविता सुनुवारसँगै कोशी जनता माध्यमिक विद्यालय रामपुरको कक्षा १० मा पढ्थिन् । नाबालिकाले आफ्ना काकाका छोरासंग मिलेर घटना गराएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको छ ।
कविता र ति किशोरीको लामो समय देखि विवाद चलिरहेको पनि देखिएको छ । प्रहरीका अनुसार प्रवेशिका परीक्षाका लागि ट्यूसन पढ्नलाई मंगलबार बिहान तिनैजना सँगै निस्किएका थिए । योजना अनुसार कविताकी किशोरी साथीले आफ्नो दाई विनोदलाई पनि बोलाएकी थिइन् । विनोद उनीहरुको विद्यालयमा नपढ्ने भएपनि बहिनीलाई छोड्न जाने बहानामा आएका थिए । तर बिच वाटोमा पुगेर उनीहरुले कवितालाई सिध्याउने योजना थियो ।
वाटोमा उनीहरुबीच फेरी विवाद भयो र विनोद र ति नाबालिका मिलेर वियरको बोतल र पछि ढुंगाले हानेर घटना गराएको प्रहरी अनुसन्धानवाट देखिएको छ । प्रहरीले घटनामा प्रयोग भएका ति सामग्री पनि बरामद गरेको छ ।






