महासचिवमा पराजित श्रेष्ठद्वारा धन्यवाद ज्ञापन

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)को ८ औं विश्व सम्मेलनमा महासचिवमा पराजित अर्जुनकुमार श्रेष्ठले मतदातामा धन्यवाद ज्ञापन गरेका छन् ।

महासचिवमा पराजित भएलगत्तै मंगलबार बिहान विज्ञप्ती जारी गर्दै सम्मेलनमा आ–आफ्नो ठाउँबाट क्रियाशील सबैलाई धन्यवाद ज्ञापन गरे । उनले सम्मेलनबाट निर्वाचित अध्यक्षसहित पदाधिकारी र सदस्यहरुलाई शुभकामना पनि दिए । ‘आदणिय अध्यक्ष श्री भवन भट्टज्यूसहित उपाध्यक्षज्यूहरु, महाचिवज्यू, सचिवज्यूहरु, कोषाध्यक्षज्यू, सहकोषाध्यक्षज्यूसहित सम्पूर्ण पदाधिकारी एवं सदस्यज्यूहरुमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु,’ विज्ञप्तीमा भनिएको छ, ‘भवन भट्टज्यूको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमितिले विश्वभर रहेका ५० औं लाख एनआरएनको भावनाअनुसार काम गर्नुहुने विश्वास लिएको छु । सामाजिक अभियानकोरुपमा रहेको एनआरएनएलाई आगामी दिनमा अझै क्रियाशील र गतिशील बनाउनुहुनेछ भन्ने अपेक्षा लिएको छु ।’

विगत ८ वर्षदेखि केन्द्रीय नेतृत्वमा रहेर काम गर्ने अवसर प्रदान गर्ने आम एनआरएन अगुवा र एनआरएन अभियन्ताहरुमा पनि श्रेष्ठले धन्यवाद दिए । ‘साथै आगामी कार्यकालका लागि महासचिव पदमा मैले दिएको उम्मेदवारीमा साथ, समर्थन र अमूल्य मत प्रदान गर्ने सबै साथीहरुप्रति हृदयदेखि नै आभार व्यक्त गर्दछु । मैले उम्मेद्वारी घोषणापछि सामाजिक सञ्जाललगायतको माध्यमबाट हौसला, स्नेह र प्रेरणा दिनुहुनेप्रति पनि मेरो विशेष सम्मान छ,’ विज्ञप्तीमा भनिएको छ ।

एनआरएनएलाई राजनीति र शक्तिकेन्द्रमुक्त राख्ने प्रयास जारी राख्ने उनले बताए । ‘त्यहीबीचमा ८ औं विश्व सम्मेलनले पनि मलाई ठूलो पाठ दिएको छ । मेरो उम्मेदवारीमा ठूलो संख्यामा व्यक्तिगत मत प्राप्त भए पनि जीतका लागि त्यो पूर्ण हुन सकेन । तथापी, एनआरएन अभियानमा निरन्तर रहिरहन दिएको ऊर्जाकोरुपमा लिएको छ । संस्थाको नेतृत्वमा नरहे पनि एनआरएनको हरेक सुख दु:खमा मेरो साथ, लगनशीलता र क्रियाशीलता रहनेछ,’ उनको भनाइ छ ।