काठमाडौँ, २३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार केही दिनभित्र विस्तार हुन सक्ने बताउनुभएको छ ।
भूमिसुधार तथा व्यवस्थापन मन्त्रालयद्वारा आज आयोजित ‘भूमि व्यवस्थापनमा देखिएका चुनौती र समाधान’ विषयको राष्ट्रिय परामर्श गोष्ठीमा प्रधानमन्त्री ओलीले भन्नुभयो – “सरकार परिवर्तन हुने कुरा हल्ला मात्रै हो । यो दायाँबायाँ हुँदैन ।”
सरकारले आफ्ना नीति तथा कार्यक्रमअनुसारका योजनालाई कार्यान्वयन गर्ने दृढता व्यक्त गर्दै उहाँले भूमिसम्बन्धी समस्या पहिचान गरी समाधानका लागि उपयुक्त बाटो पहिल्याउन गोष्ठीमा हुने छलफल उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
भूमिसुधार तथा व्यवस्थापनमन्त्री रामकुमार सुब्बाले मुलुकमा सबै नागरिकको अचल सम्पत्तिको सुरक्षा गर्ने दायित्व आफ्नो मन्त्रालयको भए पनि स्रेस्ता प्रणाली भरपर्दो नरहेको गुनासो गर्नुभयो ।
राज्यमन्त्री विक्रमबहादुर थापाले जमिन नभएका सुकुम्बासी किसानलाई व्यवस्थित गर्न चुनौती रहेको स्वीकार्दै जग्गा धनीपुर्जा पाउनैपर्ने कतिपयले अझै पाउन नसकेको बताउनुभयो । सहायकमन्त्री दिनेश श्रेष्ठले भूमिसुधारका क्षेत्रमा विद्यमान समस्यालाई वैज्ञानिक ढङ्गमा समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।






