काठमाडौं, असार २३ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएको छ ।
कोइरालाको उपचारमा संलग्न ओम अस्पतालका वरिष्ठ चिकित्सक लव नरसिंह जोशीकाअनुसार कोइरालाको स्वास्थ्यमा सुधार आउनेक्रम जारी छ ।
कोइरालाले मान्छे चिन्ने र बोलाउँदा प्रतिक्रिया जनाउन थालेको डा. जोशीले बताए ।
भेन्टिलेटर नहटाएका कारणमात्र बोल्न नसकेको भन्दै डा. जोशीले कोइरालालाई भेन्टिलेटरबाट बाहिर झिक्ने विषयमा चिकित्सकहरुबीच परामर्श चलिरहेको पनि बताए ।
कोइरालालाई दिइएको अक्सिजन र औषधिको मात्रा पनि घटाइएको चिकित्सकहरुले बताएका छन् ।
यद्यपि, अझैपनि कोइरालाको अवस्था खतरामुक्त भने नरहेको डा. जोशीले बताए ।
पेट र स्वास–प्रश्वासमा असहज भएको भन्दै कोइराला गत मंगलबार राति ओम अस्पतालमा भर्ना भएका थिए ।
बुधबार बिहान अकस्मात् अचेत बनेका कोइरालालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ ।






