प्रदेशसभा समानुपातिकतर्फका निर्वाचित उम्मेदवारहरू घोषणा

काठमाडौं, माघ ३ । निर्वाचन आयोगले २०७४ मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत भएको मतदानको मतपरिणाम अनुसार राजनीतिक दलहरूले बन्द सूचीमा पेश गरी समावेशी सिद्धान्त अनुसार निर्वाचित भएको घोषणा गर्न नाम सिफारिस गरेका उम्मेदवारहरूलाई आज निर्वाचित भएको घोषणा गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बुधबार बसेको आयोगको बैठकले सातवटै प्रदेशबाट समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित हुने उम्मेदवारहरूको नामावलीलाई टुङ्गो लगाएको छ । नेपालको संविधानको धारा १७६ अनुसार प्रदेशसभा सदस्य निर्वाचनमा सातवटा प्रदेशमा गरी समानुपातिक निर्वाचन प्रणालीबाट जम्मा २२० जना उम्मेदवार निर्वाचित हुने व्यवस्था छ ।

आयोग बैठकले दलहरुले प्राप्त गरेको मतलाई सेन्टलग विधिबाट सिटमा रुपान्तरण गरी सिट यकिन गरेपश्चात् राजनीतिक दलहरूले छनौट गरी आयोगसमक्ष पठाएका उम्मेदवारहरूलाई प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा (७) बमोजिम निर्वाचित भएको घोषणा गरेको हो ।

आयोगले सोही ऐनको दफा ६० को उपदफा (८) बमोजिम निर्वाचित उम्मेदवारहरूको नामावली सम्बन्धित प्रदेश प्रमुखसमक्ष पठाउन, निर्वाचित उम्मेदवारहरूलाई प्रमाणपत्र प्रदान गर्न, सम्बन्धित राजनीतिक दललाई जानकारी गराउन तथा निर्वाचित उम्मेदवारहरूको नामावली नेपाल राजपत्रमा अतिरिक्ताङ्क गरी प्रकाशन गर्ने निर्णय गरेको छ ।

प्रदेशसभाका समानुपातिकतर्फका निर्वाचित उम्मेदवारहरुलाई आ–आफ्नो राजनीतिक दलहरुसँग समन्वय गरी यही माघ ५ गते शुक्रबार दिनको १ बजे आयोगमै प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेकाले उपस्थितिका लागि हार्दिक अनुरोध गरिएको छ । यससम्बन्धी विस्तृत विवरण २०७४ माघ ४ गते आयोगको वेबसाइट election.gov.np मा राखिने छ ।