मुख्य दलका शीर्ष नेताहरुले संविधान लेखनको सन्दर्भमा अब कसरी अघि बढ्ने भन्नेबारे विहीबार (भोलि) संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई जवाफ दिने प्रतिबद्धता जनाएका छन् ।
आफूले सहमतिका लागि आग्रह गरेको समय गुज्रिएपछि सभाध्यक्ष नेम्वाङले बुधबार आफ्नो कार्यकक्षमा प्रमुख तीन दल र मधेसी मोर्चाका शीर्ष नेताहरुसँग छलफल गरेका हुन् ।
छलफलका क्रममा शीर्ष नेताहरुले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन संवाद समितिमै पठाउने वा संविधानसभाबाटै त्यसको टुंगो लगाउने भन्नेमा विहीबारसम्ममा जानकारी गराउने बताएका हुन् ।
छलफलमा नेम्वाङले संविधानसभामा संवाद समितिको प्रतिवदेनमाथि धारणा राख्नेक्रम सकिन लागेको भन्दै अब के गर्ने भनी शीर्ष नेताहरुलाई प्रश्न गरेका थिए ।
बैठकपछि, एमाले अध्यक्ष केपी ओलीले दलहरुबीच विहीबारसम्ममा सभाध्यक्षलाई अब के गर्ने भन्नेबारे जानकारी गराउने निर्णय भएको बताए । अध्यक्ष ओलीले प्रक्रिया भन्ने बित्तिकै नतर्सिन एकीकृत माओवादीलाई आग्रह पनि गरे ।
ओलीले मधेसी दलहरुलाई आफूले सही सुझाव दिएपनि उनीहरुले गलत रुपमा बुझ्ने गरेको गुनासो गरे । ‘मधेसी नेताहरुले तराईका जिल्लालाई पहाडसँग नजोड्ने गरी प्रदेश बनाउने भनेपछि आफूले समथर भू–भाग जति सबै हाम्रो भन्ने भ्रम छोड्न आग्रह गर्दै त्यसो भए बिहार र उत्तर प्रदेश पनि मिलाउनुस् न’ भनेको ओलीले स्पष्ट पारे ।
अध्यक्ष ओलीले जनता र राष्ट्रको हीत हुने गरी आगामी माघ ८ भित्रै संविधान जारी गर्नका लागि जुनसुकैस्तरमा सहमति गर्न आफू तयार रहेको पनि बताए ।
यस्तै, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले विवादित विषयमा सहमति गर्न सबै दल इमान्दार भए माघ ८ मै संविधान जारी हुने दाबी गरे ।
अध्यक्ष गच्छदारले सभाध्यक्षको आग्रहअनुसार नै विषयमा सहमति गर्न २/३ दिन समय लाग्न सक्ने बताए । ‘छोटो बाटो अपनाएर माघ ८ मा संविधान जारी गर्ने गरी सहमतिको प्रयास गरिने’ गच्छदारको भनाइ थियो । विहीबार पनि दलहरुबीच छलफल हुने गच्छदारले जानकारी दिए ।
दलहरुले सभाध्यक्षलाई भोलि जवाफ दिने






