अस्ट्रेलियाका नेपालीहरुले कसरी मनाए त क्रिसमस ? एक रिर्पोंट:तक्दीर अधिकारी

तक्दीर अधिकारी

सिड्नी । आज २५ डिसेम्वर क्रिश्चन धर्म लम्वीहरुको भगवान मानिने युशु क्रियष्टको जन्म दिन । जसलाई क्रिसमस डेका रुपमा संसारभरका क्रिश्चन धर्म लम्वीहरुले आज धुमधाम साथ मनाई रहेका छन् । क्रिश्मस र नयाँ वर्षको रौनकमा यतिबेला विश्व समुदाय नै रमाइरहेको छ ।

क्रिश्मस हिजोआज एक समुदायमा मात्र सीमित रहेन,बहुसांस्कृतिक सम्प्रादय भएको देशमा क्रिश्मसलाई अनौपचारिक रुपमै सबै समुदायले मनाएको पाइन्छ ।

यही क्रिसमस माहोल र झिलिमिलीले धपक्क बलेको छ अस्ट्रेलियाको सिड्नी । शहरका चोकचोक र सडकमा बत्तिहरु टांगिएका छन्, क्रिसमस ट्री सजाइएको छ । क्रिसमसको मुख्य आकर्षण सान्ता क्लज (क्रिसमसका पिता), क्रिसमस ट्री र रंगीबिरंगी झिलिमिली बत्तीहरुको सजावट नै हो ।

सिड्नीमा डिसेम्बरको शुरुदेखि नै घर, पसल तथा सडकहरु सजाइन्छ, जसलाई जनवरी महिनामा पर्ने अंग्रेजी नयाँ वर्षसम्म राख्ने परम्परा छ । क्रिसमसलाई इसाईहरुले मात्र नभई गैर इसाईहरुले पनि उत्सवको रुपमा मनाउने र एक आपसमा उपहार आदानप्रदान, खानपिन र आफन्तजनहरुसँग रमाउनु नै क्रिसमसको विशेषता हो ।

अस्ट्रेलिया पनि एउटा बहुसांस्कृति सम्प्रदाय बसोबास गर्ने देश हो । सबै धर्मसंस्कृतिलाई यहाँ उत्तिकै सम्मान गरिन्छ । पछिल्लो समयमा अस्ट्रेलियामा नेपाली समुदायको उपस्थिति बाक्लो हुँदै गएको छ ।विशेषगरी नेपाली समुदायको आफ्नै संस्कार र सस्कृति हुँदाहुँदै पनि इसाइ समुदायको विशेष पर्व क्रिश्मस र नयाँ वर्ष पनि त्यत्तिकै रमाइलो गरी मनाउँछन् ।

वर्षभरि नै काममा घोटिने र वर्षको अन्त्य र नयाँ वर्षको सुरुवातमा एक साता लामो विदा हुन्छ । यो विदालाई सदुपयोग गर्न पनि इसाइ समुदायजस्तै नेपालीहरु पनि घुम्ने, खाने र रमाइलो गर्छन् ।

यसै बीच सिड्नी स्थित लन्डन नेपाल न्यूजका लागि तक्दीर अधिकारीले अस्ट्रेलियामा रहेका नेपाली समुदायसँग क्रिश्मस र नयाँ वर्ष कसरी मनाउँदै हुनुहुन्छ भनेर सोधेका थिए । हेरौं उनीहरुको भनाइ जस्ताको त्यस्तै–

महेशराज दाहाल, अस्ट्रेलियाका लागि नेपाली राजदूत

क्यानभरामा परिवारसहित क्रिश्मस मनाउने योजना छ । क्रिश्मस मात्र होइन, नयाँ वर्षमा समेत कुनै नयाँ ठाउँ जाने योजना छैन, क्यानभेरामै परिवारसँग बसेर मनाउने तयारी गरेका छौं । ज्वाइँ, भान्जाभान्जीहरु आउँदैछन्, उनीहरुसँग बसेर रमाइलो गर्ने कार्यक्रम छ । क्रिश्मसको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र दीघायूको कामना गर्दछु । आउँदा दिन सबैको सुखमय बनोस् यही शुभकामना व्यक्त गर्दछु ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्द्रिय उपाध्यक्ष मन केसी

एक साता लामो विदाभरि अस्ट्रेलियाका विभिन्न स्थानको अवलोकन गर्ने योजना छ । पूर्वतयारी चाहिँ होइन, कामको चापले गर्दा कुन ठाउँ जाने भन्ने निर्णय भइसकेको छैन । भिक्टोरिया अथवा अन्य कतै गइन्छ होला । क्रिश्मस तथा नयाँ वर्ष २०२० ले गैरआवासीय नेपाली तथा सम्पूर्ण नेपाली समुदायमा सकरात्मक सोचको अभिवृद्धि होस, यो भएन ऊ भएन भन्नुभन्दा पनि आफैले जिम्मेवारी लिएर अगाडि बढौं, सबैमा शान्ति, सुख, समृद्धि अभिवृद्धि होस् ।

केशव कँडेल, अध्यक्ष एनआरएनए अस्ट्रेलिया

म काममै व्यस्त छु । त्यसैले क्रिश्मस र नयाँ वर्ष मनाउने मेरो खासै योजना छैनन् । बालबच्चा र परिवार क्रिश्मस र नयाँ वर्षमा रमाउँछन्, म चाहिँ काममै व्यस्त रहन्छु । क्रिश्मस र नयाँ वर्षको एनआरएनए अस्ट्रेलियाको तर्फबाट मंगलमय शुभकामना भन्न चाहन्छु । आफूलाई क्रिश्मस र नयाँ वर्ष मनाउँदैगर्दा पानीमा जाँदा वा ड्राइभ गर्दा ध्यान पु¥याउन अनुरोध गर्दछु ।

देब गुरुङ:एनआरएनए अस्ट्रेलिया उपाध्यक्ष तथा न्यू साउथ वेल्स राज्यपरिषद् संयोजक:

परिवारसहित पिकनिक गएर रमाइलो गर्ने कार्यक्रम तय गरेका छौं । बारथस क्षेत्रमा पिकनिक जाने कार्यक्रम बनाएका छौं । नयाँ वर्षमा चाहिँ फायरवर्क हेर्ने कार्यक्रम बनाएका छौं । नेपाली समुदायमा पनि क्रिश्चयन छन् । अस्ट्रेलियामा बसेर सबैलाई क्रिश्मसको शुभकामना र नयाँ वर्षमा सुख समृद्धि र सुस्वास्थ्यको शुभकामना भन्न चाहन्छु ।

दिपराज सापकोटा, मिर्ची रेस्टुरेन्ट सञ्चालक_

क्रिश्मसका अवसरमा स्टाप पार्टी आयोजना गरिएको छ । स्टापसँग बसेर रमाइलो गर्ने कार्यक्रम छ । नयाँ वर्ष कसरी मनाउने भन्ने योजना अहिलेसम्म बनेको छैन । स्टापलाई पनि विदा दिनुप¥यो । क्रिश्मसका दिन चाहिँ सबैतिर बन्द हुन्छ, तर नयाँ वर्षमा पसलहरु पनि बन्द हुँदैन । क्रिश्मस तथा नयाँ वर्षको सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु  इर्साद अहमद, युवा संयोजक एनआरएनए अस्ट्रेलिया

क्रिश्मस र नयाँ वर्ष मनाउन हामी परिवारसहित बाथर्स जाँदैछौं । क्रिश्मस र नयाँ वर्षमा सुरक्षित ड्राइभ गर्नुस्, बढी मादक पदार्थ सेवन नगर्नुस्, सुरक्षित रहनुहोला भन्ने सम्पूर्ण नेपालीमा शुभकाना दिन चाहन्छु ।

सन्ध्या शाह, एनआरएनए नारी निकुञ्ज अस्ट्रेलिया संयोजक

देशअनुसारको भेष भनेजस्तै नेपालमा भए पनि क्रिश्मस र नयाँ वर्ष निश्चय नै मनाइथ्यो । क्रिश्मस आफ्नो संस्कृति नभए पनि बहुसंस्कृति देशमा बसिसकेपछि बच्चाहरुलाई स्कुलमा जुन किसिमको ज्ञान दिएको हुन्छ, त्यही अनुसारको व्यवहार गर्नुपर्छ । बच्चाको खुशीका लागि भए पनि घरमा क्रिश्मस ट्रि राखेको छु । सबैको धर्म संस्कृतिलाई सम्मान गर्नुपर्छ भन्ने मलाई लाग्छ । क्रिश्मस र नयाँ वर्षमा नेपालीहरु घुम्न निस्कनु हुन्छ, उहाँहरु सुरक्षित ड्राइभ गर्नुहोला, समुन्द्री किनारामा पौडी खेल्न जाँदा पनि आफूले जानेबुझेको ठाउँमा मात्र खेल्नु होला भनेर अनुरोध गर्न चाहन्छु ।

अशोक केसी, आईसीसी सदस्य, एनआरएनए साउथ अस्ट्रेलिया

विगतमा जस्तै परिवार नै बाहिर घुम्न जाने योजना छ । लोकल डेस्टिनेशनमा बिताउने र फायरवर्कको रमाइलो हेर्न जाने योजना छ । साउथ अस्ट्रेलियामा फायरवर्क एउटा समुन्द्री किनारा र अर्को सहरमा गरी दुई ठाउँमा हुन्छ । हामीले चाहिँ समुन्द्री किनारामा जाने निर्णय गरेका छौं । त्यहाँ भिजिट नेपालको प्रमोशन राख्ने कि भन्ने सल्लाह भइरहेको छ । भिजट नेपाल २०२० को प्रचारप्रसार सामाग्री वितरण र यसबारे जानकारी गराउनका लागि टि–सर्ट लगाउने कि भन्ने योजना छ । कत्तिको सफल होइन्छ त्यो थाहा छैन । नयाँ वर्षले सामाजिक सद्भाव अभिवृद्धि गरोस्, एकता कायम रहिरहोस् । हाम्रा चाडपर्वहरु हामी नेपाली जसरी जोडिन्छौं, त्यसरी नै मिलेर बस्ने, वातावरण बनोस् क्रिश्मस र नयाँ वर्षको शुभकामना ।

सञ्जीव पराजुली, गायक (हाल नेपालमा)

सांगीतिक कार्यक्रमका लागि म अहिले नेपालमा छु, अझै केही समय म नेपालीमा रहन्छु । यसपालिको नयाँ वर्ष साथीभाइ र आफ्न्तबीच मनाउने योजना छ । विशेषतः नयाँ वर्षको अवसरमा नेपालका विभिन्न सहरमा सांगीतिक कार्यक्रम छ, म त्यसैमा व्यस्त रहन्छु । पहिलो कार्यक्रम काठमाडौंमै हुनेछ, दोस्रो कार्यक्रम झापाको दमकमा, तेस्रो कार्यक्रम बुटवल, चौथो कार्यक्रम पोखरा र अन्तिम कार्यक्रम पुनः काठमाडौंमै हुनेछ।नयाँ वर्षको अवसरमा क्रिश्मस मनाउने सम्पूर्णलाई मंगलमय शुभकामना भन्न चाहन्छु ।

अनिल पोखरेल कोषाध्यक्ष एनआरएन अस्ट्रेलिया

अस्ट्रेलियामा वर्षभरि दुःख गरिन्छ, यो समय भनेको सबै दुःखलाई बिर्सेर बिदामा नयाँ वर्षका लागि नयाँ शक्तिसहित रिफ्रेस हुने मनोरञ्जन गर्ने हो । यो जीवनशैलीको अभिन्न अंग पनि हो । यसले मानिसमा सकरात्मक सोचका साथ अघि बढ्न नयाँ वर्षले सहयोग पुगोस् । यो मानिसको मानसिक स्वास्थ्यसँग पनि सम्बन्धित छ । यो बिदामा सम्पूर्ण ताजमिनियाँ घुम्ने योजना छ । यो नयाँ वर्षले सकरात्मक सोचसहित अघि बढ्ने पे्ररणा मिलोस् भन्ने शुभकामना दिन चाहन्छु ।

विनोद पौडेल, सामाजिक अभियान्त 

क्रिश्मसमा दिउँसो बच्चालाई पार्कमा घुमाउने र साँझ परिवारसहित घुम्ने योजना छ । देउसी भैलो खेलेर पैसा उठेको थियो । त्यो पैसाले हामी नेपाली समुदाय नयाँ वर्षमा एप्पिन पार्कमा वनभोज जाँदैछौं । क्रिश्मस र नयाँ वर्षको अवसरमा विश्वभरि छरिएर रहेका नेपालीमा शुभकामना व्यक्त गर्न चाहन्छु । जनवरी १ मा हामी नेपालीले मनाउँदै आएको टोपी दिवसको पनि शुभकामना भन्न चाहन्छु ।

मेघराज पौडेल, प्रिन्सिपल, डाइनामिक रियालस्टेट

 

बहुसांस्कृति राष्ट्रमा बसेपछि हामीले पनि क्रिश्मस मनाउनुपर्ने हुन्छ । कम्पनीको तर्फबाट क्रिश्मसका अवसरमा डिनरको आयोजना गरियो । नयाँ वर्षमा चाहिँ म परिवारसहित बाहिर जाँदैछु । सम्पूर्णमा मेरी क्रिश्मस र नयाँ वर्षको शुभकामना भन्न चाहन्छु ।

विवेक थापा, अध्यक्ष एनएडिफए

सम्पूर्ण रुपमा घरमा खाना बनाउने खाने, रमाइलो गर्ने योजना छ । नयाँ वर्षमा पनि घरमै रमाउने कार्यक्रम छ । क्रिश्मस र नयाँ वर्षको बीचमा एक दुई दिन हामी वरिपरी घुम्न जान्छौं होला । अस्ट्रेलियालाई दोस्रो घर मानेर बसेका नेपालीहरुले हामीले आफ्नो चाँड मनाउँदै गर्दा अस्ट्रेलियाको संस्कृतिलाई पनि हामीले भित्रैदेखि रमाइलो गरेर मनाउनुपर्छ । यसलाई हामीले जीवनको पद्धतिको रुपमा विकास गर्नुपर्छ भन्ने सन्देश दिन चाहन्छु । सबैलाई मेरी क्रिश्मसको शुभकामना ।

तीर्थराज कार्की, सहसचिव एनआरएन न्यू साउथ वेल्स राज्यपरिषद्

क्रिश्मस सिड्नीमै मनाउने योजना छ । मेरो सालीको विवाह यहीको अस्ट्रेलियनसँग भएको थियो । उनीहरुले नै निम्तो गरेका छन् । उनीहरुकै स्टाइलमा क्रिश्मस मनाउने योजना छ । त्यहाँ गएर परिवार र केटाकेटीले रमाइलो गर्छन् होला । बुवाआमा आउनु भएको छ, यो समयमा फुर्सद पनि हुन्छ, उहाँहरुलाई सिड्नी सहर घुमाउने योजना छ । अस्ट्रेलियामा रहनुभएका सम्पूर्ण नेपालीलगायतलाई क्रिश्मस तथा नयाँ वर्षको शुभकामना व्यक्त गर्दछु ।

दिनेशराज जोशी,कांग्रेस नेता 

क्रिश्मस र अंगे्रजी सम्वतको नयाँ वर्ष खासै मानिदैन, तर सबै धर्मसंस्कृतिलाई सम्मान गर्छु । यो विदाको समयमा परिवारसँग बसेर समय बताउने योजना छ । यो नयाँ वर्षमा कमीकमजोरीलाई सच्चाएर अघि बढ्ने मिलोस्, नयाँ वर्षमा नयाँ जोश, उमंग र जागरले अघि बढ्ने प्रेरणा मिलोस् भन्ने शुभकामना दिन चाहन्छु ।

प्रकाश प्रसाई, क्यानभेरा

स्थानीय क्षेत्रमा हेर्ने, घुम्ने योजना छ । बाहिर घुम्न जाने योजना थियो, त्यो क्यान्सिल भयो । यसपटक सुनाउनै खालको मेरो कुनै योजना छैन । बहुसंस्कृतिक देश भएको हुनाले सबै चाँडपर्व मनाउनुपर्छ भन्ने मेरो धारणा हो ।

नन्द गुरुङ, पूर्व उपाध्यक्ष तथा एनएसडब्लु राज्यपरिषद्का संयोजक

पाँचजनाको हाम्रो एउटा समूह छ, प्रत्येक वर्ष हामीले पालोपालो लन्च डिनरको आयोजना गछौं । यसपटक सागर श्रेष्ठको घरमा त्यो कार्यक्रम आयोजना हुन्छ । खाने बस्ने, उपहार आदानप्रदान गर्ने कार्यक्रम छ । सम्पूर्ण अस्ट्रेलियावासीलाई मेरी क्रिश्मस भन्न चाहन्छु ।

संगीता बस्नेत जोशी, एनआरएनए, एसीसी कोषाध्यक्ष

हाम्रा बच्चाबच्चीले पनि यो संस्कृति भुल्छन् कि भन्ने कुरामा म एकदमै गम्भीर छु । यद्यपि अस्ट्रेलियामा आएर बसिसकेपछि बच्चाबच्चीलाई खुशी बनाउनका लागि पनि यहाँका चाडबाड मनाउनुपर्छ । बच्चाबच्चीको रहरले गर्दा मात्रै क्रिश्मस र अंगे्रजी नयाँ वर्ष औपचारिकताका लागि मात्रै मनाउने गर्छु । तर मलाई भित्रैबाट हाम्रै संस्कार संस्कृति पहिलाइरहून भन्ने लाग्छ।

क्रिश्मस र नयाँ वर्षमा परिवारसँग बाहिर घुम्न जाने योजना छैन । यो विदाको सदुपयोग गर्दै म काम गर्दैछु । कार्यस्थलमा हामी स्टाफहरुबीच उपहार आदानप्रदान गरेर आफ्नो खाना साटासाट गरेर मनाउने गरेका छौं । त्यसकारण विगतभन्दा यस वर्षको क्रिश्मस र नयाँ वर्ष फरक होला भन्ने लाग्छ । यो नयाँ वर्षमा भिजिट नेपाल २०२० लाई सफल पारौं । प्रत्येकले एकजनालाई नेपाल पठाउन सकियो भने पनि धेरै राम्रो हुन्छ ।

हेरौ लन्डन नेपाल न्यूजका लागि तक्दीर अधिकारी र सहकर्मी अनु लामाले त्यहाँ पुगेर तयार पार्नु भएको स्थलगत भिडियो रिर्पोट:

Leave a Reply

Your email address will not be published. Required fields are marked *