एजेन्सी । रूसले युक्रेनमाथि गरेको आक्रमणका कारण ७१ लाखभन्दा बढी युक्रेनी नागरिक आन्तरिक रुपमा विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
उनीहरू आफ्नो घर छाडेर भागेको तर, देशमै रहेको राष्ट्रसङ्घको भनाइ छ । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासनसम्बन्धी सङ्गठन (आइओएम)ले मार्च १६ मा जारी गरेको पहिलो अध्ययनमा अनुमानित ६४ लाख ८० हजार आन्तरिकरूपमा विस्थापित व्यक्ति रहेको बताइएको थियो ।
रूसले गत फेबु्रअरी २४ मा यूक्रेनमाथि आक्रमण गरेपछि लाखौं मानिसहरू आफ्नो घर छोडेर भागेका छन् ४२ लाख भन्दा बढी यूक्रेनी विदेश पलायन भएका छन् । आईओएमले मार्च २४ देखि अप्रिल १ बीच आफ्नो दोस्रो सर्वेक्षण गरेको थियो र शुक्रवारसम्म युक्रेनभित्र ७१ लाख ३८ हजार ७१५ जना आन्तरिक रूपमा विस्थापित भएको अनुमान गरिएको छ ।
यसमध्ये ५९ प्रतिशत महिला रहेको अनुमान छ । झन्डै २४ लाख मानिसहरू किभ क्षेत्रबाट भागेको अनुमान गरिएको छ भने २४ लाख यूक्रेनको पूर्वी क्षेत्र र १७ लाख उत्तरी क्षेत्रबाट विस्थापित बनेका छन् ।






