अभिनेता भुवन केसी काठमाण्डौ महानगरपालिकाको मेयर पदमा उठ्दै

काठमाण्डौ । अभिनेता भुवन केसीले पनि काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेद्वारी दिने भएका छन् ।

उनले स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेद्वारी दिने भएका हुन् ।

मंगलबार बसेको उक्त पार्टीको केन्द्रीय कार्य समितिको बैठकबाट काठमाडौं महानगरपालिकाको मेयरका लागि केसीलाई छानिएको छ । त्यस्तै, पार्टीले उपमेयरका लागि शहरीय गरिबीको अनुसन्धाकर्मी रेश्मा लामालाई चयन गरेको छ ।

केसीलाई मंगलबारकै बैठकबाट पार्टीले परराष्ट्र विभागको जिम्मेवारी पनि दिएको छ । दोस्रो संविधानसभाको चुनावताका कलाकारको नेता बन्ने लहरका बीच एमाले पार्टीमा प्रवेश गरेका भुवन केसी केही समययता राप्रपा पार्टीमा प्रवेश गर्ने चर्चा थियो ।

आगामी स्थानीय तहको चुनावमा भने फेरि उनी राजनीतिक रुपमा सक्रिय हुने देखिएका छन्। जसअनुसार उनले स्वागत नेपाल नेतृत्वको पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयर पदका लागि उम्मेद्वारी दिने भएका छन् ।