लण्डन । बेलायत स्थित व्यवसायीहरु र नेपालको प्रतिष्ठित व्यवसायिक समुह आईएमई ग्रुपका निर्देशक हेमराज ढकालबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
ब्रिटेन नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आइतबार साँझ लन्डनको ह्यांगर लेनस्थित क्राउन प्लाजा होटलमा भएको डिनर रिसेप्सनका क्रममा बेलायत र नेपालको व्यापार सम्बन्धका विभिन्न विषयमा केन्द्रित रहेर अन्तरक्रिया गरिएको थियो ।
बेलायतमा व्यवसाय गर्दै आईरहेका नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका उपाध्यक्ष समेत रहेका ढकालले नेपालमा लगानीको दृष्टिले उपयुक्त ठाउँ रहेको भन्दै अनावश्यक आशकां र चिन्ता गर्नु नपर्ने बताए । नेपालमा अवसरहरु प्रशस्त रहेकाले लगानी गर्दा चिन्ता गर्नुनपर्ने उनको भनाई थियो ।
(फोटो फिचर)
प्राविधिक रुपमा केहि झञ्झटहरु रहेतापनि व्यवसायका लागि भने नेपाल उर्वर भूमी रहेको ढकालले बताए । पछिल्लो वर्षमा विदेशी लगानीको वातावरण बनेको र लगानी गर्नेहरु पनि हौसिएकाले आउँदा दिनहरुमा क्रमिक प्रगति हुँदै जाने विश्वास समेत व्यक्त गरे ।
उनले नेपाल सरकारसगं सहकार्य गरि निजि क्षेत्रबाट सञ्चालित व्यवसाय र लगानीकर्ताहरुको सहजता र सुरक्षित वातावरण निर्माणका विषयमा पनि विभिन्न प्रयास र पहलहरु भईरहेको बताए ।
अन्तरक्रियामा बेलायतस्थित व्यवसायीहरुले नेपालमा लगानीको वातावरण, सम्भावनाका क्षेत्रहरुदेखि आइएमई ग्रुपको सफलताका विषयमा ढकालसंग जिज्ञासा राखेका थिए ।
कार्यक्रमका संयोजक बिएनसिसी उपाध्यक्ष बिराज भट्टले नेपालको सफल व्यवसायिक समूहका निर्देशकसंगको छलफलले बेलायतस्थित नेपाली व्यवसायीहरुका लागि उपयोगी भएको भन्दै सहभागी सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।
















