अन्तत सबैका लागि खुल्यो अस्ट्रेलिया

सिड्नी । दुई वर्षपछि अन्तर्राष्ट्रिय यात्रुहरुका लागि अस्ट्रेलियाले प्रवेश खुल्ला गरेको छ । फेब्रुअरी २१ देखि सवै प्रकारका भिजा प्राप्त गरेका अन्तर्राष्ट्रिय यात्रुहरूलाई अस्ट्रेलियाले प्रवेश दिने भएको हो ।

त्यसका लागि यात्रुहरुले अस्ट्रेलियामा मान्यता प्राप्त कोरोना विरुद्धको खोपको पूर्ण मात्रा भने लगाएको हुनुपर्नेछ । पूर्ण रूपमा खोप प्राप्त नगरेका प्रवेशाज्ञा प्राप्त यात्रुहरूका लागि भने अझै यात्रासम्बन्धी वैध छुटको आवश्यकता पर्नेछ ।

कोरोना भाइरस महामारीका कारण सन् २०२० को मार्च महिनायता अस्ट्रेलियाले निकै कडा यात्रा प्रतिबन्ध लागु गरेको थियो । खोपको पूर्ण मात्रा लगाएका यात्रुहरू क्वारन्टीनमा बस्नुपर्ने छैन । तर खोप नलगाएका यात्रुहरूले आफ्नै खर्चमा १४ दिनसम्म होटेलमा बस्नुपर्ने हुन्छ ।

मार्च ३ तारिखसम्म बन्द रहेको र खोपको बुस्टर मात्रा लगाएको हुनुपर्ने नियम लागु गरेको वेस्टर्न अस्ट्रेलियाबाहेक यात्रुहरू सबै राज्यमा जान पाउने बताइएको छ । अस्ट्रेलियन सरकारको डिजिटल प्यासेन्जर डिक्लेरेसन फारम भर्नुपर्ने र पिसीआर परिक्षण गरेको नेगेटिभ रिपोर्ट भने अनिवार्य रहेको छ ।

अस्ट्रेलियाका पर्यटनमन्त्रीले पछिल्लो व्यवस्था पर्यटन व्यवसायका लागि सुखद समाचार रहेको बताएका छन् । सन् २०१९ मा अस्ट्रेलियामा झन्डै ९५ लाख विदेशी पर्यटक पुगेका थिए ।