जेब्रा झोला भित्र विभत्स अवस्थामा भेटिएको शवको पहिचान

धरान : धरानको जगंलमा जेब्रा झोला भित्र विभत्स अवस्थामा भेटिएको शवको पहिचान भएको छ । सुनसरीको धरान-४ को जंगलमा भेटिएको उक्त शव झापा दमक ५ का ४३ वर्षीय दिपक सिग्देल भएको सुनसरी प्रहरी प्रमुख एसपी सन्जयसिंह थापाले जानकारी दिए ।

मृतक सिग्देलको शव फाल्गुण ४ गतेखसुनसरी धरान-४ स्थित धरान-धनकुटा सडकखण्डको जेठामाने गोलाइस्थित खर्दु सामुदायिक वन क्षेत्रमा निलो पहेंलो रंगको जेब्रा झोला फेला परेको थियो ।

त्यस झोलामा प्याक गरिएको अवस्थामा एक पुरूषको टाउको र दाहिने खुट्टा फेला परेको थियो । इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा डग स्निफिङको टोली खटिएको थियो । यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका फरेन्सिक विशेषज्ञ चिकित्सक पनि खटिएका थिए ।

त्यसपछि प्रहरीले टाउको र खुट्टालाई प्रतिष्ठानको शव गृहमा लगेको थियो । त्यसकै भोलिपल्ट बाँकी अंग खोज्न प्रहरीको टोली खटिएको थियो । सो टोलीले गत बिहीबार बिहान ५ गते उत्तर धरधरे भन्ने स्थानमा अर्को झोला फेला पार्‍यो । त्यस झोलामा बाँकी शरीर पनि फेला परेको थियो ।

शरीरका पूणर् भाग फेला परे पनि ती पुरूषको सनाखत हुन नसके पछि प्रहरी उनको स्केच सार्वजनिक गरेको थियो । सुनसरी प्रहरीका अनुसार सोमबार उनका परिवारका सदस्य आएर मृतक दिपक सिग्देल भएको पुष्टि गरेका हुन् । एसपी थापाका अनुसार वैदेशिक रोजगारीबाट फर्केका दिपक घरबाट बाहिर हिँडिरहने गर्थे ।

यसपटक कहिलेदेखि घरमा सम्पर्कविहीन थिए भन्ने खुलिनसकेको एसपी थापाले बताए । शवको सनाखत भएपनि हत्याका विषयमा भने अनुसन्धान हुदै गरेको उनले जानकारी दिए । शव पहिचान भएकाले अनुसन्धान पनि सहज हुने उनको भनाई छ ।