लन्डन– पश्चिम लन्डनमा अवस्थित एक आवासीय ‘टावर ब्लक’ मा बुधबार बिहानबाट भएको भीषण आगलागीमा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
आगलागीमा दर्जनौँ घाइते भएका छन् । ५० व्यक्तिलाई उपचारार्थ अस्पताल लगिएको हुनाले मृतक सङ्ख्या बढ्नेसमेत अनुमान गरिएको छ । सो आवासीय टावर ब्लकमा बुधबार बिहानीपख आगो लागेको हो ।
सो भवनभित्र करिब २०० जनाको बसोबास गर्दै आएको अनुमान गरिएको छ । तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बसोबास गर्ने व्यक्तिको सङ्ख्या २ सय भन्दा बढी रहेको छ ।
आगलागीको कारण अझै प्रष्ट नभएको र अनुसन्धानरत रहेको जनाइएको छ ।
बेलायतमा पछिल्ला केही समययता आतङ्ककारी हमलाहरूको भएको हुनाले यस आगलागीमा पनि आतङ्ककारीको कुनै योजना त होइन भनी व्यापक मात्रामा अनुसन्धान जारी रहेको बताइएको छ । यसले नागरिकहरूमा थप त्रास छाएको छ ।
तर प्रहरीले भने यस आगलागीमा त्यस्तो कुनै पनि आतङ्ककारी हमलाको प्रयास नभई त्यहाँ प्राविधिक कारणले नै आगो लागेको जनाएको छ ।






