काठमाडौं । नायक पल शाह र गायिका समिक्षा अधिकारीको सम्बन्धका बारेमा अडियो बाहिरिएको छ । त्यसो त केही समयअघि उनी पलविरुद्ध जाहेरी दिन कास्की प्रहरीको शरणमा पुगेकी थिइन् । उनले यो अडिओमा पनि आफूलाई एसपीले छोरीजस्तै व्यवहार गरेर कानूनी लडाइँको लागि हौसला र आइडिया दिएको बताएकी छन् ।
तर, जाहेरी लिनका लागि कास्की प्रहरीको कार्यक्षेत्र नभएकाले उनलाई तनहुँ जिल्ला प्रहरी कार्यालयमा पठाइएको थियो । तर, पलले उनलाई पुनः होस्टाइल बनाएर कानूनी कारबाहीबाट जोगिएका थिए । नाबालिगसँगको सम्बन्धलाई कानूनले सहमतिमै भए पनि दण्डनीय अपराध मान्छ, त्यसका लागि पीडितले नै जाहेरी दिनु पनि पर्दैन । नायक पल शाहले आफ्ना पुरुष सहकर्मीले गायिका समिक्षा अधिकारीलाई आफूविरुद्ध उकासेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नायक शाहले आफूमाथि लागेको ‘प्ले व्वाई’ को आरोप र सार्वजनिक भएको अडिओका विषयमा खडन गरेका छन् । उनले उक्त अडियोमा वास्तविक नभएको समेत दाबी गरेका छन् । भाइरल भएको अडिओमा सुनिएको आवाज आफ्नो भएकोमा पनि शंका रहेको पलको दाबी छ । प्रविधिको प्रयोगमार्फत आफ्नो जस्तो आवाज बनाइएको हुन सक्ने आशंका उनले व्यक्त गरेका छन् ।
उनले लेखेका छन्, ‘फरक प्रसंग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएका सम्वादहरुलाई हाम्रो बास्तविक जिवनसँग जोड्ने प्रयासमा रहनु भएका मेरा केही पुरुष सहकर्मी (व्यवसायिक प्रतिस्पर्धि)ले निज गायिकालाई मेराविरुद्ध बोल्न, प्रमाण सिर्जना गर्न लगातार उकास्ने गरेको जानकारी मलाई थियो, निज निर्दोष गायिकाले मेरा पुरुष सहकर्मीहरुले उकासे बमोजिम नै गर्दै गएको भन्ने कुरा पछिल्लो मिडिया रिर्पोटले थप पुष्टि गरेको छ ।’
उनी थप्छन्, ‘मेरा सम्पुणर् दर्शक महानुभावहरुको म प्रतिको भरोसालाई अक्षुण राख्न, निज गायिकालाई मेरा प्रतिस्पर्धि साथिहरुले उकासेको अडिओलगायत अन्य प्रमाणहरु मसँग सुरक्षित रहेको र ती सवुत प्रमाणहरु आधिकारिक निकायले माग गरेको खण्डमा पेश गर्नेछु भन्ने प्रतिवद्धता व्यक्त गर्दै म र मसँग नाम जोडेर प्रकाशित उल्लेखि समाचारहरु वास्तविकता भन्दा धेरै टाढा रहेको हुँदा सोबाट भ्रमित नहुन हार्दिक अपिल गर्दछु ।’
नायक पल शाह र गायिका अधिकारीविच प्रेम सम्बन्ध रहेको कुरा सार्वजनिक भएको थियो । सार्वजनिक एउटा अडिओमा पल, समिक्षा, दुर्गेश थापा लगायतका व्यक्तिहरुको आवाज स्पष्टै चिनिन्छ । अडिओमा पलले समिक्षासँग सम्बन्ध राखेको स्वीकारेका छन् । अहिले उनले आफ्नो गल्ति स्वीकार्ने भन्दा पनि उक्त आवाजमै आशंका व्यक्त गरेर हास्यादपद बचाउ गर्न खोजेका छन् ।






