लन्डन । बेलायती सेनामा रोयल गोर्खा राइफल्स स्थापना भएको २५ औं वर्षगाँठका अवसरमा बेलायती युवराज चाल्र्सले बेलायती सेनामा कार्यरत गोर्खाहरुलाई विभिन्न पदक वितरण गरेका छन् ।
केन्टस्थित रोयल गोर्खा राइफल्सको पहिलो बटालियनमा आयोजित समारोहमा विशेष अतिथिका रुपमा बेलायती युवराज चाल्र्स सहभागी भएका हुन् ।
रोयल गोर्खा राइफल्सका मानार्थ प्रमुख समेत रहेका युवराज चाल्र्सले बटालियनका सदस्यहरुलाई विभिन्न पदक समेत वितरण गरेका थिए । पदकबाट विभुषित हुनेहरु हालै अफगानिस्तानको ६ महिने मिसनमा सेवा गरेर फर्किएका गोर्खाहरु थिए ।
त्यसबाहेक सोहि अवसरमा विभिन्न तीन विधामा रोयल गोर्खा राइफल्सको वार्षिक बटालियन अवार्ड पनि वितरण गरिएको थियो । समारोहमा झण्डै तीन सय गोर्खाहरुले विभिन्न पदक प्राप्त गरेका थिए । त्यसअवसरमा युवराज चार्ल्सलाई गोर्खा रेजिमेन्टको परिचायक हरियो , कालो र रातो रंगको रंगीन माला पहिराएर स्वागत गरिएको थियो । रोयल गोर्खा राइफल्सको २५ औं वर्षगाँठको उपलक्ष्यमा गोर्खाहरु आफैले तयार पारेको केक युवराजले काटेका थिए ।
पदक वितरणको कार्यक्रमपछि युवराज चाल्र्सले समारोहमा उपस्थित गोर्खा, भूपू गोर्खा र तीनका परिवारलाई पनि भेटेका थिए । भेटका क्रममा युवराज चाल्र्ससँग कुराकानीको अवसर पाउने गोर्खाहरुले जीवनकै अविस्मरणीय क्षणभन्दै ठूलो हौसला र प्रेरणा मिलेको बताएका छन् ।






