प्रकाश सापकोटा ,
पेरिस । पेरिसमा आइफल टावोर अगाडी गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश विश्वमा फैलाउने उद्देश्यसहित बुद्ध जयन्ती मनाइएको छ ।
भगवान गौतम बुद्धको शान्ति उपदेश र उनी नेपालमा जन्मिएका हुन् भन्ने सन्देश विश्वमाझ फैलाउन नेपाली समुदाय एकत्रित भएका थिए । बुद्धका तस्विर र पोस्टरसंगसंगै नेपाली झण्डाको उपस्थितिले बुद्ध र नेपालको सम्बन्ध दर्शाइरहेका थिए।
फ्रान्सस्थित नेपाली दूतावास, एनआरएन फ्रान्स, फ्रान्स नेपाल मैत्री संघ, मैजों कल्चर, नेपाली एकता समाज, तमु समाज, पाकोफेन र म्याग्दी समाज ले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा नेपालीहरुको भब्य सहभागिता रहेको थियो ।
विभिन्न संस्थाहरुका प्रतिनिधिहरुले विश्व आतंकवादले त्रसित भइरहंदा बुद्धको शान्ति सन्देश अहिले झन् आवश्यक भएको उल्लेख गरेका थिए । उनीहरुले नेपाल र विश्व राजनीतिमा बुद्धको नीति अवलम्बन गर्नुपर्ने आवश्यकता औलाउदै बुद्धको अनुशरण गरेर मात्रै विश्वमा शान्ति र समृद्धि स्थापना हुन सक्ने बताए।









