काठमाडौँ, ९ वैशाख । ओखलढुङ्गाका उज्ज्नकुमार श्रेष्ठको हत्यामा सङ्लग्न पूर्व सभासद् बालकृष्ण ढुङ्गेललगायतविरुद्ध जाहेरी दिएकै कारण गोली हानी हत्या गरिएका रामेछापका गणेशकुमार श्रेष्ठको घटनामा पुनरावेदन अदालतले अनुसन्धान अघि बढाउन प्रहरीलाई आदेश दिएको छ ।
पुनरावेदन अदालत जनकपुरले आज गणेशकुमारको हत्याको मुद्दामा अदालतले छ महिनाभित्र अनुसन्धान पूरा गरी दोषीलाई कारबाही प्रक्रिया अगाडि बढाउन आदेश दिएको हो । सो अदालतका मुख्य न्यायाधीश पुरुषोत्तम भण्डारी र न्यायाधीश मेघनाथ भट्टराईको संयुक्त इजलासले छ महिनाभित्र अनुसन्धान पूरा गरी दोषीउपर कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी कार्यालय रामेछापको नाममा परमादेशको आदेश जारी गरेको हो ।
बाह्र वर्षअघि श्रेष्ठ दाजुभाइको हत्याका दोषीउपर दायर गरिएको किटानी जाहेरीमा यति लामो समय बितिसक्दा पनि प्रहरीले कारबाही प्रक्रिया अगाडि नबढाएपछि गणेशकुमारका छोरा विजय श्रेष्ठले वकालत मञ्च–नेपाल (एड्भोकेसी फोरम) को कानुनी सहायतमा गत फागुन ६ गते पुनरावेदन अदालतमा रिट दायर गर्नुभएको थियो । सो रिट निवेदनमा पुनरावेदन अदालतले कारबाही अगाडि नबढाउनुका कारण १५ दिनभित्र पेस गर्न जिल्ला प्रहरी कार्यालय रामेछापलाई यसअघि आदेश दिएको थियो । प्रहरीले चित्तबुझ्दो कारण पेस गर्न नसकेपछि अदालतमा पुनः न्यायका लागि पुग्नु परेको हत्या गरिएका श्रेष्ठ दाजुभाइकी बहिनी सावित्री श्रेष्ठले भनाइ छ ।
पीडितका तर्फबाट मङ्गलबार अधिवक्ता गोविन्द शर्मा बन्दी, पुष्पराज पौडेल, राजकुमार महासेठ र सीताशरण मण्डलले बहस पैरवी गर्नुभएको थियो ।
विसं २०५५ असार १० गते ओखलढुङ्गामा गणेशकुमारका भाइ उज्जनकुमारको हत्या भएपछि प्रहरीमा न्याय माग्न पुगेका गणेशकुमार श्रेष्ठलाई २०५९ साल मङ्सिर ६ गते खेतमा काम गरिरहेका अवस्थामा रामेछापको साँघुटारमा छोरीकै आँखा अगाडि गोली हानी हत्या गरिएको थियो ।
गणेशकुमारकै उजुरीका कारण उहाँका भाइ उज्ज्नकुमारको हत्या प्रकरणमा एमाओवादीका पूर्वसभासद् ढुङ्गेललगायतलाई सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरिसकेको छ । पूर्वसभासद् ढुङ्गेलकै योजनामा युद्धकालमा गणेशकुमारको पनि हत्या गरिएको परिवारको भनाइ छ । गणेशकुमारको हत्यामा संलग्न टीका सुनुवार, रक्तिम लामा र अन्य नचिनिएका छ जनाविरुद्ध २०५९ सालमा रामेछाप प्रहरीमा किटानी जाहेरी परेको थियो । तर अहिलेसम्म प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छैन ।
श्रेष्ठको हत्याबारे अनुसन्धान गर्न आदेश






