जाजरकोटमा महामारी चाँडो नियन्त्रण गर्न निर्देशन

काठमाडौँ, ९ वैशाख । व्यवस्थापिका–संसद महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाज कल्याण समितिले जाजरकोटमा फैलिएको मौसमी रूघाखोकी (फ्लु) को महामारी अन्य जिल्लामा समेत फैलिँदै गएको सन्दर्भमा जतिसक्दो चाँडो प्रभावकारी नियन्त्रणका लागि सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारस्थित समितिको कार्यालयमा आज बसेको बैठकले तीन हप्तादेखि फैलिएकोको महामारीबाट थप मृत्यु हुन नदिन रोगीहरूको स्वास्थ्यकर्मीसँग पहँुच सुनिश्चित गर्न समेत निर्देशन दिएको छ । महामारी प्रभावित क्षेत्रमा नियन्त्रणको लागि स्वास्थ्य, शिक्षा, खानेपानी, सरसरफाइ, पोषणलगायतको अभियान सञ्चालन गर्न र अध्ययन अनुसन्धान गरी भविष्यको लागि योजना बनाउन पनि समितिले आग्रह गरेको छ ।