नेता आचार्यको स्वास्थ्यमा सुधार, फिजियोथेरापीबाट उपचार

narahariकाठमाडौं- मस्तिष्कघात भई राजधानीको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत नेपाली कांग्रेस नेता एवम् पूर्वमन्त्री नरहरि आचार्यको स्वास्थ्यमा क्रमशः सुधार आएको छ ।

आचार्यलाई गएरातिदेखि मुखबाट झोल पदार्थ खुवाउन थालिएको अस्पताललले जनाएको छ । अहिले आचार्यको रक्तचाप नियन्त्रणमा रहेको तथा प्यारालाइसिस भएको शरीरको दायाँ भागलाई सामान्य अवस्थामा फर्काउन आजैदेखि फिजियोथेरापी समेत सुरु गरिएको छ ।

आचार्यका सहयोगी काँग्रेस काठमाडौं जिल्ला कार्यसमितिका सदस्य रामचन्द्र घिमिरेका अनुसार उनी अहिले होसमा आएका छन् ।

चिकित्सकहरुले आचार्यलाई निगरानीमा राखेर उपचार गराइराखेको र उच्च रक्तचापका कारण मस्तिष्कको नशा फुटेर जमेको रगतको थेग्लो पनि विस्तारै सानो हुँदै गएको अस्पतालले आज बिहान १० बजे जारी गरेको मेडिकल बुलेलिटनमा उल्लेख छ ।

पार्टी सभापति सुशील कोइरालाको निधनलगत्तै कोइराला निवास पुगेका आचार्यलाई गत मंगलबार बिहान एक्कासी अप्ठेरो भएपछि अस्पताल पुर्‍याइएको थियो ।