संविधानसभा बैठकमा नेताहरुको चर्काचर्की

संविधानसभामा मंगलबार देखि संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले पेश गरेको संविधानको पहिलो मस्यौदामाथिको परिमार्जित प्रतिवेदनमा माथि छलफल सुरु भएको छ । संवाद समितिका सभापति डाक्टर बाबुराम भट्टराईले पहिलो मस्यौदामाथिको परिमार्जित प्रतिवेदनमाथि छलफल होस भन्ने प्रस्ताव राखेपछि त्यसमाथि छलफल सुरु भएको हो । तर राप्रपा नेपाल र केही मधेस केन्द्रित दलले भने प्रस्तावित परिमार्जित मस्यौदामाथिको छलफल बहिस्कार गरेका छन् । छलफल सुरु हुनुअघि संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रदेशको सिमांकन जनभावनाअनुरुप नभए देशैभर विद्रोह हुने चेतावनी दिए ।
उनले सुर्खेतमा मान्छे मारिएका, जुम्लालगायतका स्थानमा दमन गरिएको भन्दै अब देशका अन्य क्षेत्रमा पनि विद्रोह हुने बताए । जनतालाई दमन गरेर संविधान जारी गर्छौं भन्ने भ्रम भए त्यसलाई हटाउन सुझाव दिँदै उनले चार दलका नेता आफैं बर्दि लगाएर बन्दुक बोकेर गए पनि जनतालाई रोक्ने नसक्ने चेतावनी दिए ।राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले धार्मिक स्वतन्त्रतासहितको सनतान हिन्दू राज्य घोषित नगरिए देशमा विद्रोह हुने र ९४ प्रतिशत जनताले संविधान अस्विकार गर्ने चेतावनी दिए ।
राप्रपा नेपाल र मधेस केन्द्रीत दलका ५९ सभासद्ले बहिस्कार गरे पनि मस्यौदामाथिको छलफल भने जारी रहेको छ । छलफलमा सहभागी १६ बुँदे सम्झौताका हस्ताक्षरकर्ता दलकै सभासदले पनि आपत्ति जनाएका छन् । तर उनीहरुले असन्तुष्टिका बीच संविधान जारी गर्नुपर्ने बताएका छन् । यसअघि मंगलबार ९ बजे बसेको संविधानसभाको बैठकले राष्ट्रिय सभाका पूर्वसांसद् तथा वरिष्ठ राजनीतिज्ञ राजेश्वर देवकोटाको निधनमा शोकप्रस्ताव पारित गरेको छ । बैठकमा अध्यक्ष सुवासचन्द्र नेम्वाङले राखेको शोक प्रस्ताव पारित गरेको हो । त्यसपछि एक घण्टाका लागि बैठक स्थगित गरिएको थियो ।