लन्डनको नेपाली मेला २५ अगष्टमा, १० हजार नेपाली उतार्ने तयारी

शिव भण्डारी

लन्डन । तमु धिं यूकेको आयोजनामा आगामी अगष्ट २५ तारिखमा नेपाली मेला हुने भएको छ । केम्प्टन पार्कमा हुने नेपाली मेलामा मौलिक भेषभुषामा आएर मेलामा सहभागी भइदिन लन्डनस्थित तमुधिं यूकेले आव्हान गरेको छ ।

११ औं नेपाली मेलामा बेलायतवासी झण्डै दश हजार नेपाली आउने अपेक्षा गरिएको मेला संयोजक एबम तमुधिं यूके उपाध्यक्ष जुमकाजी गुरुङले जानकारी दिए । पर्यटन वर्ष २०२० लाई लक्षित गरेर प्रचार प्रसार तीब्र पारिएको छ ।

बिहान १० बजेदेखि राति ८ बजेसम्म चल्ने मेलाको बिस्तृत जानकारी दिनका लागि तमु धिं यूकेले आफ्ना कार्यक्रमहरु १७अगष्टमा  पत्रकार सम्मेलन मार्फत सार्बजनिक गर्ने भएको छ ।

सन् २००९ देखि प्रत्येक वर्ष अगस्ट महिनामा आयोजना गर्दै आएको मेलामा नेपाली राजदूतावास लन्डनको सहयोग, बेलायतस्थित नेपाली संघसंस्था, उद्यमी तथा व्यापारीहरुको साथ र बेलायतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहको आपार मायामा सञ्चालन हुँदै आएको छ । एघारौं संस्करणको रुपमा आगामी २५ अगस्टका दिन यसपटक पनि लन्डनस्थित केम्पटन पार्कमा आयोजना गर्ने भएको हो ।

मेलाले एकातिर बेलायतमा रहेका नेपाली संघसंस्थाहरुबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ भने अर्कोतर्फ स्थानीय समुदायसँग पनि सम्बन्ध बढाउन सक्ने विश्वास लिएको छ।मेलामा बेलायतस्थित विभिन्न देशका राजदूतलाई निमन्त्रणा गर्ने प्रचलनलाई यसपटक पनि निरन्तरता दिने भएको छ ।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी प्रमुख अतिथी रहने कार्यक्रम बेलायतको सिंगो नेपाली समुदायकै प्रतिष्ठा र हित जोडिएको भन्दै सहभागिता तथा सहयोगको लागि तमु धिं यूके अध्यक्ष नन्दजंग गुरुङले अपील गरेका छन् । यसैगरी उपाध्यक्ष हितकाजी गुरुङले नेपाली मेला तमु धिं यूकेले आयोजना गरे पनि बेलायतबासी सबै नेपालीहरुको साझा कार्यक्रम रहेको भन्दै सफल पार्न आव्हान गरेका छन् ।

नेपाली मेला सबै जाति, भूगोल र भाषाभाषीको प्रतिनिधित्व हुनेगरी सांस्कृतिक कार्यक्रम लगायत बिभिन्न चाडपर्व हरुमा देख़ाइने बिभिन्न झांकिहरू नेपाली पंचेबाजा प्रस्तुत गरिने हूदा सहभागिता जनाऊँन सबै महानुभावहरूमा तमुधीं लन्डन इकाईका पूर्व अध्यक्ष एबम तमु धिं यूकेका सल्लाहकार दिपक गुरुङ ‘डेबिड’ समेतले अनुरोध गरेका छन् ।

नेपाली राजदूतावाससहित बेलायतस्थित दर्जनौं संघसंस्थाको प्रत्यक्ष सहभागिता रहने उक्त मेलाले मिनी नेपाल अर्थात नेपाली कला, संस्कृति र भेषभुषा झल्काउने गर्छ । मेलालाइ थप मनोरन्जनात्मक बनाउन ब्रिगेड अफ ब्याण्ड र नेपाली युवाहरुको सांगीतिक प्रस्तुति, एम्बेसेडर कप, सांस्कृतिक झांकी प्रतियोगिता, एब मनोरन्जनात्मक खेल, नेपाली खाना तथा उत्पादनहरुका स्टल आदि आकर्षणका रुपमा रहनेछन् ।

यस कार्यक्रमको बारेमा प्रचार प्रसार गर्नका लागी तमु धिं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ समेतले सबैमा अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *