तक्दीर अधिकारी
सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको निर्वाचन कमिटीले विद्युतीय मतदानमा शंका नगर्न आग्रह गरेको छ । निर्वाचन कमिटीले बिहीबार पत्रकार सम्मेलन गरी यस्तो आग्रह गरेको हो । निर्वाचन निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण रुपमा सम्पन्न भएको कमिटीले जानकारी गराएको छ । संयोजक मन केसीले कमिटीले कुनै सदस्यको डाटा निर्वाचन कमिटीले नलिएको सिधैं एनआरएन अस्ट्रेलियाका सचिवमार्फत् भोटिङ भेन्डर भेरो कम्पनीलाई दिएको स्पष्ट पारे ।
न्यू साउथ वेल्सलगायत केही ठाउँमा सदस्यता लिँदा व्यक्तिगत विवरण र फोन नम्बर प्रयोग गरी मास म्यासेजमार्फत चुनाव चलिरहेका बेला भोट मागिएपछि यसलाई स्पष्ट गर्न बिहीबार एनआरएन अस्ट्रेलियाको निर्वाचन कमिटीले पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।
निर्वाचनका दिन साँझ मत परिणाम घोषणा गरिसकेपछि यस विषयमा उठेका विभिन्न जिज्ञासाको जवाफ दिन निर्वाचन आयोगले आईटी टिममा रहेका सद्स्यहरु लाई पनि उपस्थित गराएको थियो । सञ्चारकर्मीको जिज्ञासालाई आइटी टोलीले समग्र प्रकृयाबारे स्पष्ट पारेका थिए । उनीहरुले भोटिङ भेन्डरले शतप्रतिशत विश्वस्त बनाएको पत्रकार सम्मेलनमा प्रतिक्रिया दिएका थिए । ‘भोटिङ भेन्डिङ कम्पनीको कुनै पनि दिनमा अडिट गर्नुपर्ने भएमा सहयोग गर्न डाटा सुरक्षित राखेको पत्रकार सम्मेलनमा निर्वाचन कमिटीका सदस्य ध्रुव सुवेदीले जानकारी दिए ।
निर्वाचन कमिटीले सार्वजनिक गरेको इलेक्सन ब्रिफमा सम्पूर्ण विजेतालाई बधाई र शुभकामना दिएको छ । उक्त ब्रिफमा भनिएको कुरा यस्ता थिए–
– अस्ट्रलियामा १४ वटा भोटिङ बुथ थिए ।
– शहरी क्षेत्रबाहिर टाढा क्षेत्रमा बस्नेहरुका लागि अनलाइन भोट हाल्ने व्यवस्था गरिएको थियो ।
– सबै क्षेत्रमा करिब ५० जना निर्वाचन कमिटी सक्रिय थियो ।
– स्वमसेवी, आइटी टोली, पर्यवेक्षक, विवाद सुल्झाउने आपतकालीन टोली सक्रिय थियो ।
– सशुल्क सुरक्षाकर्मी टोली बुथमा परिचालित ।
– स्वतन्त्र भोटिङ भेन्डरभेरोले निर्वाचन गराउने, मतगणना गर्ने लगायत काम गरेको थियो । यसलाई निर्वाचन आयोगले कुनै हस्तपेक्ष गरेको थिएन ।
– नो मोबाइल नो भोट सिस्टम लागू ।
– भौतिक र भर्चुल मतदान एकै समयमा सुरुवात भएको थियो । मतदान बिहान साढे ८ देखि अपरान्ह ५ बजेसम्म चलेको थियो ।
– भिक्टोरियामा इन्टरनेट स्लो भएको गुनासो आएपछि तुरुन्तै सम्बोधन गरिएको थियो ।
– मतदान गर्न आएका मतदातालाई निर्धारित समयभित्र मतदान गर्न दिइएको थियो ।






