बेलायतको म्यानचेस्टर एरिनामा कन्सर्ट भइरहेकाबेला विस्फोट, कम्तिमा १९ को मृत्यु

लन्डन– बेलायतको म्यानचेस्टर एरिनामा कन्सर्ट भइरहेकाबेला विस्फोट हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ । ब्रिटिस समय राति १० बजेर ३५ मिनेटमा भएको विस्फोटमा ५० भन्दा बढी घाइते भएका प्रहरीलाई उद्धृत गर्दै बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी पप गायिका आरियाना ग्रान्डीको कन्सर्ट अन्तिमतिर पुगेकाबेला विस्फोट भएको हो । २१ हजार दर्शक क्षमताको उक्त एरिनामा युवा दर्शकको बाहुल्य थियो ।

विस्फोटको कारण स्पष्ट नभए पनि बेलायतको उत्तर पश्चिम प्रतिआतंकवाद युनिटले सम्भावित आतंककारी घटना भन्दै अनुसन्धान थालेको बीबीसीले जनाएको छ ।

घटनापछि कन्सर्टस्थल नजिक रहेको म्यानचेस्टर भिक्टोरिया रेल स्टेसन बन्द गरिएको छ भने रेलसेवा रद्द भएका छन् ।