डा. भट्टराईले भने-भारतलाई गुहारेको छैन

काठमाडौं, २३ फागुन। एकीकृत नेकपा माओवादी नेता डा. बाबुराम भट्टराईले आफूले भारतलाई नगुहारेको दाबी गरेका छन् । हालै भारत भ्रमणबाट फर्किएका भट्टराईले शनिबारको बालुवाटार बैठकमा यस्तो दाबी गरेका हुन् ।

शनिबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्तापक्ष र विपक्षी दलका नेताहरुको बैठक बसेको थियो । सो बैठकको अन्तिममा डा भट्टराईलाई बोल्न दिइएको थियो ।

बैठकमा भट्टराईले भारत बसाइको क्रममा आफूले राजनीतिक भेटघाट गरे पनि नेपालको राजनीतिक निकासका लागि नगुहारेको प्रस्ट पारेका थिए ।

प्रमुख दलका शीर्ष नेताहरुबीच संवादहिनता तोडिएर सुरु भएको वार्तालाई उनले सकारात्मक भन्दै राजनीतिक गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरे ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति समेत रहेका भट्टराईले सहमतिमै नयाँ संविधान जारी गर्नुपर्नेमा जोड दिएका थिए ।