नेपाल फेस्टिबल सिड्नी २०२२ को धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न

सिड्नी । गैर आवासीय नेपाली संघ (एनआरएनए) न्यू साउथ वेल्स राज्य परिषदले नेपाल फेस्टिबल सिड्नी २०२२ को धन्यवाद कार्यक्रम सम्पन्न गरेको छ ।इतिहासकै सबैभन्दा धेरै मानिसहरु सहभागितामा १९ नोभेम्बर २०२२ मा सम्पन्न फेस्टिबललाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्ति एवम् सघंसंस्थालाई सघंले धन्यवाद व्यक्त गर्नुका साथै सम्मान समेत गरिएको छ ।

२८ जनवरी शनिवारका दिन  एसफिल्ड पार्कमा सम्पन्न भएको कार्यक्रममा नेपाल फेस्टिबल सिड्नी २०२२ सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोजक कमिटीबाट एनआरएनए पदाधिकारीहरु, कलाकारहरु सञ्चारकर्मी, स्वयंसेवकहरुको   सम्मान तथा धन्यवाद व्यक्त गरिएको थियो ।

कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले यो कार्यकालदेखि नै एनआरएनएले सबै राज्यमा नेपाल फेस्टिबल सम्पन्न गरेको बताए । उनले यसवर्ष तास्मानिया र क्यानबेरामा पनि नेपाल फेस्टिबल गर्न लागिएको भन्दै अब सबै राज्यमा फेस्टिबल सम्पन्न हुने र यसले निकै ठुलो उपलब्धी हासिल गरेको बताए । उनले आफ्नो कार्यकालमा धेरै काम भएको भन्दै नेपाली जनसंख्या बढ्दै जाँदा विभिन्न नराम्रा गतिबिधिहरु पनि बढ्दै जान थालेकाले सबै मिलेर त्यसको समाधान गर्नुपर्ने विचार व्यक्त गरे ।

त्यस्तै एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष एवम् न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङले नेपाल फेस्टिबल सिड्नी २०२२ नोभेम्बर १९ मा भव्यताका साथ ऐतिहासिक रुपमा सम्पन्न भएको बताए । यसपटक नेपाल फेस्टिबलको आयोजक स्थलको स्थानान्तरण गर्दा पनि झनै भव्य बनेको र सफल भएको बताए ।

उनले नेपाल फेस्टिबल सिड्नीलाई भव्य रुपमा सम्पन्न गर्न सहयोग पूर्याउने प्रायोजकहरु, एनसीसी न्यू साउथ वेल्स राज्य परिषद सयोंजन समिति,  अतिथि कलाकार, स्थानीय कलाकार, समाजसेवीहरु, अस्ट्रेलिया सरकारका प्रतिनिधि, एमपी, काउन्सिलर मेयर एवम् नेपाली तथा ग्रैह्र नेपाली सञ्चारकर्मीहरुको मद्धतबाट कार्यक्रम सफल भएको भन्दै सबैजनालाई सम्मान सहित धन्यवाद व्यक्त गर्न पाउँदा खुसी लागेको बताए । उनले भविष्यमा पनि आफुले यस्तै साथ सहयोगको अपेक्षा राखेको बताएका थिए ।

एनआरएनए सल्लाहकार श्री नापितले नेपाल फेस्टिबल प्रत्येक वर्ष झन झन ठुलो र भव्य बन्दै गएको बताए । कार्यक्रमको सञ्चालन ट्रेजरर भावना श्रेष्ठले गरेकी थिईन् । बिहान १२ बजेदेखि ४ बजेसम्म चलेको कार्यक्रममा समयानुसार आउने जानेक्रम रही रहेको थियो । आयोजक कमिटीबाट एनआरएनए पदाधिकारीहरु, कलाकारहरु स्वयंसेवकहरु समाजका प्रतिनिधि, प्रतिष्ठित व्यक्तिहरु लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

नेपाली कला संस्कृतिलाई अस्ट्रेलियामा पनि प्रवद्र्धन गर्ने उद्धेश्यले एनआरएनएले नेपाल फेस्टिबल गर्दै आईरहेको छ । नेपाली कला, संस्कृति, परम्परा देखाउने नाँच, झाँकी, भजन कृतन, बाजागाजा, नेपाली खानाका परिकार, विभिन्न जातजातिका आआफ्नै भेषभुषा र मौलिक संस्कृति एवम् समग्र नेपाललाई एउटै मञ्चमा चित्रण गर्दै नेपाल फेस्टिबल गरिँदै आएको छ । कार्यक्रममा नेपालका चर्चित राष्ट्रिय कलाकारको समेत प्रस्तुती रहँदै आएको छ ।

फेस्टिबल सम्पन्न गर्न  एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा न्यू साउथ वेल्स राज्य संयोजक एवं नेपाल फेस्टिवल सिड्नी मुल समारोह समिति सयोंजक देव गुरुङ र उपसिमितिमा एनआरएनए अस्ट्रेलिया कोषाध्यक्ष अनिल पोखरेल, न्यू साउथ वेल्स राज्य परिषद उपसयोंजक सुकृति भट्ट, न्यू साउथ वेल्स राज्य परिषद सचिव विनोद कुँवर, कोषाध्यक्ष भावना श्रेष्ठको सयोंजकत्वमा व्यवस्थापन, ओसेनिया महिला संयोजक उषा बारीया पोखरेलको संयोजकत्वमा सांस्कृतिक समिति, परेड व्यवस्थापनमा एनआरएनए अस्ट्रेलिया सचिव सन्ध्या शाह सयोंजक रहेको उपसमिति गठन गरिएको थियो ।आयोजकले कार्यक्रम हेर्न नेपाली मात्र नभएर अन्य मूलका मानिसहरु समेत गरी ३० हजार भन्दा धेरै मानिसहरु सहभागि भएको विश्वास गरेको छ ।