एनआरएनए यूकेले गरयो बेलायतका ५० संघसंस्थाका प्रतिनिधि राखेर ‘बंशजको नेपाली नागरिकता’ सम्बन्धी वहस

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले शनिबार आफ्नै कार्यालय अल्डरसटमा वंशजको नेपाली नागरिकता निरन्तरता सम्बन्धी वहस गरेको छ । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वक्ताहरुले गैर आवासीय नेपाली नागरिकता परिचयपत्र सरह भएकाले वंशजको नेपाली नागरिकता कायम राख्ने व्यवस्था बनाउन माग गरेका छन् ।

गोर्खा संगठनका प्रमुखहरु समेत सहभागी उक्त वहसमा गोर्खा अभियन्ताहरुले नेपाल सरकारले नै गोर्खाहरुलाई ब्रिटिश सेनामा पठाउने सम्झौता गरेको तर पछि यहांको नागरिकता लिएकै आधारमा वंशजको नागरिकताबाट वञ्चित गरि विभेद गरेको गुनासो गरे ।
एनआरएनए यूके उपाध्यक्ष विमला लिम्बुले सञ्चालन गरेको पहिलो सत्रको कार्यक्रममा महासचिव नम्रता घलेले स्वागत मन्तव्य दिएकी थिइन् । उपाध्यक्ष भरत लिम्बुले स्वागत गर्दै अध्यक्ष गाहामगरको मन्तव्य वाचन गरेका थिए । उक्त मन्तव्यमा गाहामगरले रवि लामिछानेको प्रकरणपछि वंशजको नेपाली नागरिकता निरन्तरता अभियान झन् सार्थक भएको उल्लेख छ ।
वंशजको नेपाली नागरिकता निरन्तरता महाअभियानका संयोजक खगेन्द्र पाठकले नेपालको संविधानको ६३ को दफा १० र २०७२ को दफा १४ प्रस्तुत गर्दै नेपालको संविधानले विदेशका नेपालीलाई सबै अधिकार खोसेको बताए । एनआरएनएका पदाधिकारीमा अल्पज्ञान भएको र संघले मुख्य मुद्दामा नबोलेको आरोप पनि उनले लगाए । विदेश हुंदा नदिएपनि नेपालमै रहंदा राजनीतिक अधिकार सक्रिय हुने व्यवस्था गरियोस् भन्ने माग पाठकले राखे ।
चन्द्रबहादुर कार्कीले नागरिकता ऐनको दफा १० ले गैर नेपाली बनाउने भएकाले आफूहरुको आपत्ति रहेको बताए । कार्कीले धारा १४ ले सधैं गैर आवासीय बनाउने, २९१ धाराले आर्थिक अधिकार कटौती पनि गर्ने भएकाले विज्ञ टोली माग गरेर संशोधन गर्ने अभियान बढाउन सुझाए ।
बेलायत नेपाल सरकारस्तरिय वार्तामा गोर्खाहरुका तर्फबाट प्रवक्ता रिटायर्ड मेजर जुदबहादुर गुरुङले त्रिपक्षीय सम्झौता अनुसार ब्रिटिश र भारतीय आर्मीमा भर्ती भएका गोर्खाहरुको नागरिकता निरन्तरता हुनु पर्ने बताए । बिजिएनसीसीसीका उपाध्यक्ष दलबहादुर बुढाथोकीले राष्ट्रसेवक गोर्खाहरु गैर आवासीय नेपाली भन्दा फरक भएकाले उनीहरुलाई विशेष अधिकार दिइनुपर्ने माग राखे ।
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राईले नेपाल सरकार र नेता बन्न खोज्नेहरुले सशंकित हुने खालको संविधान बनाएका आरोप लगाए । नेपालबाट आदिवासी जनजातीको संख्या घटाएर उनीहरुलाई माइनोरिटीमा राख्ने षडयन्त्र पो गरिएको हो कि भन्ने शंका लागेको राईले सुनाए ।
‘गोर्खा आदिवासीमाथि गरेको व्यवहार शंकास्पद छ । बेलायती राहदानी नलिंदा बेलायतले हेप्ने र लिंदा नेपालले विभेद गर्ने गरेको छ’, राईले अनुभव सुनाए । उनले राष्ट्रिय राजनीतिक सहमति जुटाएर आफ्नो अधिकार लिन आफूहरुले आन्दोलन जारी गरिरहेको पनि बताए ।
नेपालले अहिलेसम्म ८ सय खर्ब गुमाएको जनाउंदै बेलायत नेपाल सरकारस्तरिय वार्ता छिट्टै सफल बनाउन राजनीतिक लविङ भइरहेको पनि राईले जानकारी दिए । त्रिपक्षीय सन्धिको भावना अनुसार अधिकार दिइए नेपालले खर्बौं पाउने पनि उनको धारणा थियो । गेसो उपाध्यक्ष हेम तामाङले हामी जहां गएपनि नेपाली भएकाले सरकारले भेदभाव गर्न नहुने बताए । विभाजित नभइ सबैले एकै खालको माग गर्न पनि उनले जोड दिए ।
कार्यक्रममा गोर्खा अफर टु ट्रान्सफर (गट) का अध्यक्ष मेजर रि. उदयबहादुर गुरुङ (एमबीइ) ले एनआरएनएले उठाउंदै आएको नागरिकता मुद्दा अवकासप्राप्त भूपू गोर्खाहरुमा मेल नखाने भएकाले नेपाल सरकारले एकै डालोमा राखेर गोर्खालाई गैर आवासीय नेपाली नागरिकताको ट्याग लगाउन नमिल्ने धारणा राखे । संविधानमा भएको व्याख्या बमोजिम गोर्खाहरुलाई त्यो अधिकार मान्य नहुने उनले बताए । उनले भूपू गोर्खाहरुलाई परिचयपत्र होइन्, वंशजको नागरिकता नै व्यवस्था गरिनुपर्ने माग आफूहरुको रहेको पनि बताए ।
बिजिडब्लुएस् अध्यक्ष रि. मेजर टिकेन्द्रल देवानले २० वर्ष एनआरएनएको भरपर्दा आफूहरुले केही नपाएको बताए । विदेशीले संविधान विपरित नेपालमै भर्ती गर्न पाउने तर गोर्खाहरुलाई वंशजको नागरिकता नदिनु चाहिं राजनीतिक षडयन्त्र भएको उनको धारणा थियो । देवानले रवि लामिछानेको केसमा आफ्नो ऐक्यवद्धता पनि जनाए ।
सबै संस्थाको तर्फबाट किरात राई यायोख्या बेलायतका अध्यक्ष चन्द्रबहादुर राईले सबै संघसंस्थाको एउटै आवाज लिएर वंशजको नेपाली नागरिकता अभियानमा साथ दिनुपर्ने बताए । नेपाल सरकारलाई गोर्खालीको आवाज सुनिदिन नत्र मर्न र आन्दोलन गर्न तत्पर हुने चेतावनी पनि उनको थियो ।
एनआरएनए यूके पूर्व अध्यक्ष योगेन क्षेत्रीले नेपालले विदेशमा बस्ने नेपालीलाई अनागरिक बनाउन लागेकाले अब अस्तित्वको लडाईं शुरु भएको बताए । शान्तिपूर्ण रुपमा अगाडि बढ्ने र आवश्यक परे दवावमूलक कार्यक्रम समेत आवश्यक हुने उनको भनाइ थियो ।
नेताहरुले बेलायत आउंदा यहांका नेपालीलाई लगानी गर्नुस् भनेर अर्बौं लगानी गर्न लगाइ अहिले जेल चलानको वातावरण सृजना गर्न लागिएको आरोप पनि क्षेत्रीले लगाए । क्षेत्रीले अब एक भएर सबैलाई आन्दोलनमा सरिक हुन पनि आग्रह गरे । नेपालको संविधान अधुरो रहेको भन्दै उनले संशोधनको माग पनि गरे । एनआरएनए अध्यक्ष र संस्थापकहरुले विदेशी पासपोर्ट बोकेर नेपाली पासपोर्टबाट नेपालमा लगानी गरेकाले उनीहरुलाई जेल हाल्ने कि नहाल्ने भन्ने प्रश्न पनि क्षेत्रीले गरे । एनआरएनएमा भ्रष्टाचार गर्न पाइन्न, वेथिती विकृति रोक्नु पर्छ भन्दा प्रेम गाहामगरलाई वर्खास्त गरिएको सुनाउंदै क्षेत्रीले यस मुद्दालाई सर्वोच्चमा लान सबैमा सहयोगको अपिल पनि गरे ।
गोर्खा च्यारिटीकर्ता भीम तामाङले एनआरएनमा राजनीतिकरण चलिरहेकाले सुधार गर्नुपर्ने जिम्मेवारी सबैको आएको बताए । वंशजको नेपाली नागरिकता जाती विशेष नभइ सबैको साझा विषय भएकाले एक भएर अगाडि बढ्न उनले सुझाए।
एनआरएनए यूके सल्लाहकार ओमप्रसाद थापा काउचाले नागरिकता ऐन बनाउने बेला नेपाल सरकारलाई सुझाव दिंदा एनआरएनएले गोर्खा शब्द नै उल्लेख नगरेको बताए । एनआरएनए नेताबाटै गोर्खाहरुमाथि धोका भएको आक्षेप लगाउंदै संविधान संशोधनमा सामूहिक आवाज आवश्यक भएको पनि काउचाले जोड दिए । गोर्खाहरुको टाउकोमा टेकेर अब एनआरएनए सगरमाथामा पुग्न नसक्ने उनको भनाइ थियो ।
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका अध्यक्ष भरत क्षेत्रीले नेपालका शाषकले गर्ने व्यवहारले विदेशका नेपालीले दुःख पाएको बताए । नेपालको संसदमा नागरिकता सम्बन्धि संसदीय समिति बनाइ गैर आवासीय नेपालीलाई पनि संलग्न गराइ संशोधन गरिनुपर्ने उनको माग छ । सबै मिलेर वंशजको नागरिकता कायम गराउन पहल गर्न उनले सुझाए ।
काउन्सिलर प्रवेश केसीले रवि लामिछाने प्रकरणले विदेश बस्ने नेपालीका लागि नागरिकता विषय थप पेचिलो बनेको र राजनीतिक मुद्दा भएको जनाउंदै यसले वंशजको नागरिकतामा बलियो आधार बनाउने पनि उल्लेख गरे । वंशज नागरिकता बाहेक अन्य कुनै पनि नागरिकतामा सम्झौता गर्न नहुने उनको धारणा थियो ।
एनआरएनए यूके सल्लाहकार डेभिड गुरुङले नेपाल सरकारले भूतपूर्व गोर्खालाई विभेद गरेको बताउंदै प्रधानमन्त्री प्रचण्डलाई भेटेर कुरा गर्न बेलायतबाट डेलिगेसन जानुपर्ने सुझाव दिए ।
एनआरएनए यूके पूर्व महासचिव आर के त्रिपाठीले एनआरएनए अभियानले गैर आवासीय नेपालीलाई पूर्ण अधिकार दिन नसकेपनि केही उपलव्धि भने भएको बताए । त्रिपाठीले अहिले परिचय पत्र लिएर बांकी उपलव्धिका लागि लडिरहन सुझाव दिंदै उनले आन्दोलनको ढांचा परिवर्तन गर्न पनि आग्रह गरे । उनले दोहोरो नागरिकता लिएर पनि नेपालमा नेपाली नागरिकताले सम्पत्ति खरिद गरेका कयौं भएको जनाउंदै यो अपराधमा नेपाल सरकारले आममाफी दिनुपर्ने समेत बताए ।
प्रमुख अतिथी एनआरएनए यूके प्रमुख सल्लाहकार क्याप्टेन रि. वीर थापाले एक भएर अगाडि बढ्दा सफलता मिल्ने बताए । विदेशभर रहेका विभिन्न मिसनमार्फत ज्ञापनपत्र पठाएर नेपाल सरकारलाई दवाव दिनुपर्ने उनको धारणा थियो।
एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले नागरिकता विषय झन् जटिल बन्दै गएको बताए । उनले केन्याका ३२ प्रतिशत नागरिक देश बाहिर रहेका र उनीहरुले आन्दोलनस्वरुप ६ महिना रेमिटेन्स रोकिदिएपछि त्यहांको सरकार वंशजको नेपाली नागरिकता दिन वाध्य भएको उदाहरण दिंदै नेपाल सरकारलाई पनि दवावमूलक कार्यक्रम गर्न जरुरी रहेको बताए ।
उनले विश्वका १९२ देशमध्ये ५८ देशमा दोहोरो नागरिकता प्रावधान रहेको तर अन्यत्र नभएको बताए । नेपाल सरकारले प्रदान गरेको परिचयपत्र लिए वंशजको नागरिक कहिल्यै नहुने दावी गर्दै अध्यक्ष गाहामगरले आफ्ना माग सम्बन्धित निकायमा पुरयाउन दवावमूलक कार्यक्रममा जोड दिए ।
सन् १९९९ मा मौका पाउंदा पनि ब्रिटिश नागरिकता नलिएको स्मरण गर्दै गाहामगरले वंशजको नागरिकता नभएसम्म अरु नलिने उद्घोष गरे । एनआरएनए केन्द्रिय पदाधिकारीहरु धेरैजसो दोहोरो नागरिकता प्रावधान नभएका देशका रहेका र कतिपयले शरणार्थी बनेर अर्काको देशको नागरिकता लिएकाले उनीहरुलाई वंशजको नागरिकता आवश्यक नभएको जिकिर पनि गाहामगरले गरे । उनले एनआरएनए यूकेको छिट्टै विशेष अधिवेशन डाक्ने र नेतृत्व आफैंले लिनुपर्ने अवस्था आएको पनि उद्घोष गरे ।
प्रवासमा रहेका नेपाली एक भएर आफ्ना माग एकैपटक नेपाल पुरयाउन सके आन्दोलन सफल हुने उनको भनाइ थियो ।उनले छोटो सूचनामा पनि बेलायतका ५० बढी प्रमुख संघसंस्थाका प्रतिनिधि सहभागी भएकामा धन्यवाद समेत दिए ।
बेलायतका क्रियाशिल नेपाली तथा गोर्खा संघसंस्थाका प्रतिनिधिसंग वहस कार्यक्रममा गैर आवासीय नेपालीले विदेशमा रहेपनि आफ्नो मुलुक फर्केका दिन नेपाली भन्न पाइयोस् भन्ने माग राखेर नेपाली नागरिकताको निरन्तरताको माग गरेका हुन् ।

कार्यक्रममा महिला संयोजक अमृता गिरी गजुरेल, युवा संयोजक अनिल मल्ल, एनआरएनए यूके स्वास्थ विभागका संयोजक डा. विशाल गुरुङ, कार्यसमिति सदस्य समाजसेवी मनिकला राई गुरुङ लगायत खटिएका थिए ।

कसले के भने त ? हेर्नुस पुरा भिडियो: