रुपन्देही । विद्यालय हिँडेका रूपन्देहीका दुई बालबालिकालाई अपहरण गर्ने अभियुक्तलाई रुपन्देही प्रहरीले सार्वजनिक गरेको छ ।
सैनामैनाको प्रभाव बोर्डिङ स्कुलमा पढ्ने १२ वर्षीय प्रसिद्ध (छोरा) र ९ वर्षीया प्रसन्न (छोरी) को अपहरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका सैनामैना नगरपालिका-५ का ३५ वर्षीय खेमबहादुर पौडेललाई प्रहरीले शनिवार सार्वजनिक गरेको हो ।
बिहिवारदेखि अपहरणमा परेका उनीहरुलाई प्रहरीले झापाबाट उद्धार गरेको थियो । बिहीवारदेखि घर नआएपछि परिवारले विद्यालयमा फोन गरेका थिए । विद्यालयले विद्यार्थी स्कुल नआएको बताएपछि अपहरणमा परेको पुष्टि भएको थियो ।
उनीहरू विद्यालय बस चढेर गएका थिए । तर, बीच बाटो मुर्गियामा गाडी रोकेर ‘फोटो खिच्नु छ’ भन्दै बालबालिकालाई गाडीबाट झारेर अपहरण शैलीमा लगेका थिए । प्रहरी उपरीक्षक मनोज केसीका अनुसार त्यसदिन बालबालिकालाई लिएर पौडेल बुटवलबाट विर्तामोड छुट्ने बस काउन्टरमा पुगेका थिए ।
टिकट काटेर उनी विर्तामोड पुगेका थिए । त्यही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीले बुटवलबाट आउने गाडीको निगरानी गरेको थियो । पौडेललाई अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान सुरू गरिएको प्रहरी उपरीक्षक केसीले बताए ।
केसीका अनुसार पौडेल बालबालिकाका फुपाजू हुन् । उनीहरूको पारिवारिक दुश्मनी थियो । केही समय अगाडी माईती मिलेर एक घटनामा आफुलाई प्रहरी चौकीमा थुनाएको भन्दै बदला लिने योजना सहित अपहरण गरेको प्रहरीको भनाई छ ।






