मगर संघ यूकेले एक करोडको छात्रवृत्ति कोष स्थापना गर्ने

magarलन्डन- मगर संघ यूकेले एक करोड रुपैयाँको छात्रवृत्ति कोष स्थापना गर्ने भएको छ ।

छात्रवृत्ति संकलनका लागि नोभेम्बर २१ तारिखका दिन अल्डरसटस्थित द किंग्स सेन्टरमा च्यारिटी कार्यक्रम सम्पन्न भएको छ । नेपालका गरिब तथा जेहेन्दार विद्यार्थीको सहयोगार्थ एक करोड रुपैयाँको छात्रवृत्ति कोष स्थापना गर्ने लक्ष्यसहित गरिएको उक्त च्यारिटी कार्यक्रममा भने एकै दिन आधा करोड रुपियाँ उठेको छ ।

‘हामीले विभिन्न चरणमा सहयोग संकलन गरेर एक करोड रुपैयाँ बनाउन खोजेका थियौँ तर आजको कार्यक्रमबाट धेरै उत्साहित छौँ,’ संघका अध्यक्ष दुतबहादुर पुनले भने । स्नातकोत्तर तथा विद्यावारिधी गर्न इच्छुक गरिब तथा जेहेन्दार मगर विद्यार्थीलाई सघाउने उद्धेश्यले कोष स्थापनाको लक्ष्य लिइएको अध्यक्ष पुनले बताए।

च्यारिटी कार्यक्रममा संघका सबै पदाधिकारी तथा सल्लाहकारहरुले न्यूनतम १ सय पाउण्ड सहयोग गर्नुपर्ने अनिवार्य मापदण्ड बनाइएको थियो । कार्यक्रममा प्रमुख अतिथि एनआरएन युकेका अध्यक्ष मुच्छेत्र गुरुङ, एनआरएन युरोप संयोजक कुल आचार्य, तमुधिँ अध्यक्ष रामचन्द्र गुरुङ, तमु पेल्हुका सचिव भेगलाल तमु, गेसोका अध्यक्ष पदमबहादुर गुरुङ, बेलायती सेनाका लेफ्टिनेण्ट कर्णेल यमबहादुर राना एभरेष्ट टाइम्सका सम्पादक हरिकाजी गुरुङ, मगर संघ केन्ट ब्राञ्चका अध्यक्ष उत्तर मगरलगायतले बोलेका थिए ।

कार्यक्रममा लेफ्टिनेण्ट कर्णेल यमबहादुर राना, कमिसन मेजरहरु टोल खाम्चा, रामबहादुर पुन, काउन्सिलर मेजर चित्र राना, एनआरएन युकेमा निर्वाचित योगकुमार फगामी, शान्ति थापा कुँवर, बुद्धिराम थापा, छविमाया पुन, रसमुर भोलुण्टियर अवार्ड पाउने जगत थापा, सीता थापा, गोपाल थापा लगायतलाई सम्मान गरिएको थियो ।

विभिन्न तीन चरणमा भएको कार्यक्रमको पहिलो चरणमा औपचारिक कार्यक्रम, दोस्रोमा चन्दादाताहरुको सम्मान तथा तेस्रो चरणमा सांस्कृतिक कार्यक्रमहरु भएको थियो । सांस्कृतिक कार्यक्रमअन्तर्गत नेपालको मगर संस्कृति झल्किने प्रस्तुतिहरु, लोकदोहोरी र लाइभ डिजे संगीत भएको थियो ।