सुध्रेनन् पूर्वमन्त्री गुप्ता : उजुरी दिने महिला पनि ‘डिआइजी पत्नी हत्याकाण्ड’ को फरार प्रतिवादी

काठमाडौं – व्यापारी पवन सांघाईको अपहरण गरेको आरोपमा तीन वर्ष जेल बसेर गत वर्षमात्र रिहा भएका पूर्वमन्त्री श्याम सुन्दर गुप्ता फेरि अपहरण र फिरौतीको मामिलामा पक्राउ परेका छन् ।

तीन वर्षसम्म जेल बसेर छुटे पनि नेपाल सद्भावना पार्टी युनाइटेडका वरिष्ठ नेतासमेत रहेका ७० वर्षीय गुप्ताले फेरि पूरानै धन्दालाई कायम राखेको कारण सोमबार पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार ललितपुरको ताल्छिखेल बस्दै आएका गुप्ताले धोविघाटस्थित रेड रोज इन्टरनेसनल मेनपावर सञ्चालिका तारा रेग्मीलाई पटक–पटक धम्क्याएर ५० लाख फिरौती रकम माग गरेका थिए ।

गुप्ताले ३ महिना अघिदेखि कार्यालयको फोन र रेग्मीको मोबाइलमा फोन गर्दै फिरौती नदिए जे पनि गरिदिने धम्की दिने गरेका थिए ।

रेग्मीले प्रहरीमा उजुरी दिएपछि गुप्तालाई प्रहरीले घरबाट पक्राउ गरेको थियो । उनीमाथि अपहरण तथा शरीर बन्धन उद्योग मुद्दा लगाइएको छ । अदालतबाट म्याद थप गरी उनीमाथि असुन्धान भइरहेको प्रहरीले बताएको छ ।

उजुरी दिने पनि पक्राउ

यता, गुप्ताविरुद्ध प्रहरीमा जाहेरी दिने तारा रेग्मीलाई पनि प्रहरीले पक्राउ गरेको छ । नारायणघाट गरी भई हाल घोविघाट बस्ने रेग्मी सशस्त्रका डिआइजी रञ्जन कोइरालाको मुद्दामा फरार प्रतिवादी रहेको खुलेपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको छ । कोइरालाले आफ्नी पत्नीको हत्या गरेका थिए भने कोइरालासँग अनैतिक सम्बन्ध रहेको ताराले उनलाई हत्यामा सहयोग गरेकी थिइन् ।

कोइराला हाल जेलमा छन् भने तारालाई १ वर्ष सजाय तोकिएकोमा उनले ११ महिना १० दिन कैद भुक्तानी गर्न बाँकी रहेको छ ।

इन्सपेक्टर पनि मुछिए

यो मामिलामा भैसिपाटीमा कार्यरत प्रहरी निरिक्षक अनिल पण्डितले समेत तारा रेग्मीबाट पैसा असुलेको पत्ता लागेको छ । यो विषयमा पनि असुन्धान भइरहेको प्रहरीले बताएको छ ।