हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्डको नयाँ वर्ष कार्यक्रममा पुगे राजदुत आचार्य, के के भयो कार्यक्रममा !

लण्डन । हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्डले नयाँ वर्ष २०७९ सालको शुभकामना आदानप्रदान तथा सागींतिक साँझ कार्यक्रम सम्पन्न गरेको छ । सोमबार सम्पन्न कार्यक्रमको बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले प्रमुख अतिथिको रुपमा पानसमा बत्ती बालेर र नेपाली राष्ट्रिय गान बजाएर उद्घाटन गरिएको थियो ।

उक्त अवसरमा नयाँ वर्षको शुभकामना व्यक्त गर्दै राजदुत आचार्यले समाज अझै धेरै सामाजिक क्षेत्रमा क्रियाशिल रहन सकोस् भन्ने शुभकामना व्यक्त गरे । उनले बेलायतमा रहेका नेपालीहरुका समस्या समाधानका विषयमा आफु सधै सकारात्मक रहेको समेत प्रतिक्रिया दिए ।

समाजका अध्यक्ष राम भट्टराईको अध्यक्षता रहेको कार्यक्रममा स्वागत मन्तव्य समाजका उपाध्यक्ष भिम शर्माले गरेका थिए भने समाजका संस्थापक अध्यक्ष गगां गौतमले कार्यक्रममा उपस्थित सम्पूर्णलाई समाजका बारेमा जानकारी दिँदै नयाँ वर्षको शुभकामना व्यक्त गरेका थिए ।

त्यस्तै पूर्व अध्यक्ष शिव खराल निवर्तमान अध्यक्ष गोमा पौडेल लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा एनआरएनए आईसीसी प्रवक्ता सोम सापकोटा,साझा नेपाली समाजका अध्यक्ष कृष्ण शर्मा सापकोटा,शान्ति नेपाली समाजका डिएन खरेल,चितवन एड ट्रष्ट युकेका अध्यक्ष रितेश पाण्डेय समाजको तर्फबाट उपाध्यक्ष लक्ष्मी खराल लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको बीचबीचमा समाजका बालकलाकारहरुबाट विभिन्न सागींतिक एवम् मनोरञ्जनात्मक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमको सञ्चालन समाजका महासचिव ऋषि सापकोटा र सल्लाहकार कृष्ण सापकोटाले गरेका थिए।

औपचारिक कार्यक्रम पछि चर्चित डिजे हेम बिस्ट रहेको सागींतिक साँझमा विभिन्न गीत सगींतहरुमा सहभागीहरुले नाच गान गरि रमाईलो गरेका थिए ।  कार्यक्रमको लन्डन नेपाल न्युजका प्रकाश कंडेलले लाइभ प्रसारण गरेका थिए।