विप्लवको चेतावनी

biplop

काठमाडौं  । नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्दले सरकार तथा सभासदहरु छिमेकी मुलुकको गुलाम भएको आरोप लगाउनुभएको छ । विगतको सहमति उल्ट्याएर संसदीय दलहरुले धोका दिएको भन्दै उहाँले सशस्त्र युद्ध गर्ने चेतावनीसमेत दिनुभयो ।

शुक्रवार काठमाडौमा प्रमुख चार राजनीतिक शक्तिबीच भएको १६ वुँदे सहमतिको विरोधमा नेकपा माओवादीले आयोजना गरेको विरोध सभामा महासचिव चन्दले राज्यले नागरिकलाई कारिन्दा बनाएको आरोप लगाउनुभयो । उहाँले मुलुकको स्वाधीनतामाथि धावा बोल्दा पनि राज्य लाचार भएको बताउनुभयो ।

सरकार र सभासदहरु कायर भएको भन्दै निश्चित कमिसनका लागि गुलाम भएको उहाँको आरोप थियो । भारत र चीनलार्ई  नेपालको स्वाधीनता र नेपालीहरु विरुद्ध षड्यन्त्र गर्ने अधिकार नभएको भन्दै उहाँले त्यस विरुद्ध लड्ने चेतावनी दिनुभयो । दलहरुले सोह्र वुँदे सहमति गरेर विगतको सहमति उल्ट्याएको महासचिव चन्दको जिकिर छ ।

सहमतिले देशलाई निकास नदिने बताउदै उहाँले संसदीय दलहरुको कारण द्वन्द भड्किने चेतावनी दिनुभयो । दलहरुले धोका दिएको भन्दै उहाँँले सशस्त्र युद्ध रहर भन्दा पनि आवश्यक्ता बन्दै गएको उहाँको भनाई छ ।